लामो समयदेखि तदर्थवादमा अल्झिएको नेपाल विद्यार्थी संघले आगामी वैशाख २० र २१ गते आफ्नो १२ औं महाधिवेशन गर्ने मिति तय गरेको छ ।
नेविसंघ सभापति दुजाङ शेर्पाले पार्टी नेतृत्वले समयमै विधान उपलब्ध नगराउँदा महाधिवेशनमा ढिलाइ भएको खुलासा गरेका हुन् ।
शेर्पाकाअनुसार ३२ वर्षे उमेर हदबन्दी लागू भएपछि महाधिवेशनको म्याण्डेट पाएको वर्तमान कमिटीले विधान परिमार्जन गरी पार्टीलाई बुझाएको एक वर्ष हुन लाग्दा पनि पार्टीले त्यो विधान फिर्ता दिएको छैन । यदि विधान समयमै पाएको भए सेप्टेम्बर ८ भन्दा अगाडि नै महाधिवेशन भइसक्ने उनको भनाइ छ ।
सभापति शेर्पाले आफूले कार्यकालको बीचमा पाँच पटकसम्म पार्टी नेतृत्वलाई राजीनामा बुझाएको तर नेतृत्वले ‘अधिवेशन गराएर मात्र छोड्नु’ भन्दै रोकेको बताए । उनले महाधिवेशन खर्चिलो हुने भ्रमलाई चिर्दै अत्यन्त कम खर्चमा भव्य अधिवेशन गर्ने योजना सुनाए ।
यसका लागि विश्वभर छरिएका नेविसंघका पूर्व सदस्यहरूबाट पारदर्शी ढंगले कोष संकलन गरिने र पार्टीबाट आर्थिक सहयोग नलिइने उनले स्पष्ट पारे ।
अब विद्यार्थीले आफ्नो नेता र नीति आफैं छान्ने बाटो खुलेको उनको दाबी छ । सभापति शेर्पाले विद्यार्थी नेताहरुले अब नेताहरूको झोला बोक्ने दिन सकिएको बताए ।








