२१ फागुनको निर्वाचनमा पराजय व्यहोरेको कांग्रेसमा फेरि समानान्तर गतिविधि अघि बढेको छ । निर्वाचन आयोगले मान्यता दिएको र सर्वोच्च अदालतले नरोकेको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व चुनावी समीक्षामा जुटेको छ । तर पूर्वसंस्थापन शेरबहादुर देउवा–शेखर कोइरालापक्ष समानान्तर गतिविधिमा लागेको छ ।
पार्टीको आधिकारिकताको मुद्दा अदालतमा लगेको इतरपक्षले समानान्तर गतिविधि अगाडि बढाएको हो । पछिल्लो दुई दिनयता केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक जारी छ । तर इतर देउवा–शेखर समूह छुट्टै छलफलमा जुटेको हो । पूर्वउपसभापति पूर्णबहादुर खड्काको नेृतत्वमा आइतबार बिहान धुम्बाराहीको एक होटलमा इतरपक्षका शीर्ष नेता छलफलमा जुटेका छन् ।
‘चुनावको मुखमा पार्टीमा आएको तनावले नतिजा हाम्रो पक्षमा आएन । यसैले हामी पूर्वसंस्थापन देउवा र शेखर समूहका नेताले आइतबार बिहान छुट्टै छलफल गर्यौँ,’ देउवानिकटका एक नेताले भने, ‘ठ्याक्कै समानान्तर गतिविधि नै भन्ने त होइन । तर यसअघि एकै ठाउँमा रहेका नेताहरूबीचको छलफल पूर्ण दाइले राखेपछि जम्मा भएका हाैँ ।’
सानेपामा विशेषबाट आएको नेतृत्वले चुनावी समीक्षा, १५ औँ महाधिवेशनको कार्यतालिकासहितका विषयमा छलफल गरिरहेको छ । चुनावमा पराजय व्यहोरेपछि सभापति गगन थापाले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा फिर्ता गराउने तयारी विशेषपक्षको छ । सभापति रक्षात्मक बनेकै बेला उनलाई थप कमजोर गराउने र गलाउने रणनीति इतरपक्षले लिएको छ । पार्टीले व्यहोर्नुपरेको हार विशेष पक्षबाट सिर्जना भएको इतरपक्षको आरोप छ । यसैले इतरपक्षले आवश्यक परे केन्द्रीय समितिको बैठक डाक्नेसम्मको तयारी गर्नुपर्नेमा जोड दिएको अर्का एक नेताले जानकारी दिए ।
‘चुनावपछिको समीक्षा भेट थियो । पूर्ण दाइले बोलाउनुभएको बैठकमा डा. शेखर कोइरालादेखि पूर्वपदाधिकारीसहितका नेता सहभागी हुनुहुनथ्यो । पूर्वपदाधिकारीमा धनराज गुरुङसहितका सिनियर नेताहरू सहभागी थियौँ,’ छलफलमा सहभागी भएका नेताले भने, ‘सभापतिजी पनि अर्को हप्ता हङकङबाट फर्किनुहुन्छ । त्यसै आसपास बैठक बोलाउने तयारी भएको छ । चुनावको मुखमा विशेष महाधिवेशनको चक्करले कांग्रेसले हार व्यहोरेको भन्ने साथीहरूको तर्क छ ।’
छलफलमा प्रकाशमान सिंह, डा. डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियारसहितका नेता सहभागी थिए । नेताहरूबीच केन्द्रीय समितिको नाममा बैठक बोलाउने कि पूर्वसंस्थापनको भनेर बोलाउने भन्ने कुरा मिल्न बाँकी रहेको एक नेताले जानकारी दिए । विशेष महाधिवेशनले गर्दा नै पार्टी हारेको भाष्य बनाउनुपर्नेमा इतरपक्ष छन् ।
अदालतले आफूहरूलाई आधिकारिकता दिने विश्वासमा पूर्वसंस्थापन छ । त्यसैले चुनावपछि उत्साही हुँदै छलफलमा जुटेको नेताहरू बताउँछन् । पार्टीमा तनाव बढिरहेका बेला नेविसंघले कांग्रेसबाट अलग हुनेसम्मको चेतावनी दिइरहेको छ । पार्टीका सिद्धान्तलाई माने पनि पार्टीको प्रत्यक्ष छायाबाट अलग हुनेगरी दबाब बढाएको छ ।
‘एकातिर पार्टीको आधिकारिकताको मुद्दा अदालतमा रहेको छ । यसलाई पनि कुनुपर्ने छ । हाम्रो पक्षमा आउन पनि सक्छ । यस्तो बेला केन्द्रीय समितिको नाममा बैठक बोलाउने कि, पूर्वसंस्थापन भनेर डाक्ने भन्नेमा एकमत भइसकेका छैनौँ । यसमा देउवा र शेखर पक्षको आ–आफ्नो तर्क छन्,’ ती नेताले भने, ‘विशेषपक्षले केन्द्रीय समितिको बैठकबाट लिने निर्णय, १५ औँ महाधिवेशनको कार्यतालिकाको विषय हेरेपछि मात्रै गरौँ भन्ने मत पनि छ ।’
देउवापक्षले शेखरसहितका नेता आइतबारको बैठककमा सहभागी भएको दाबी गर्यो । तर शेखर कोइरालाको सचिवालयले यस्तो छलफलको जानकारी नभएको जिकिर गर्यो । ‘चुनावपछि डा. साव आन्तरिक छलफलमा हुनुहुन्छ । तर समूहका नाममा भएका यस्ता छलफलबारे कुनै जानकारी छैन,’ शेखरका स्वकीय सचिव दिनेश थपलियाले भने ।
चुनावको मुखमा पुस २७ देखि ३० सम्म भएको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेस चुनावमा गएको थियो । निर्वाचन आयोगले मान्यता दिएपछि देउवा र शेखरपक्षले थापाकै हस्ताक्षरमा चुनाव लडेको थियो । तर प्रत्यक्षमा १८ सिट मात्रै कांग्रेसले जित्न सक्यो । सभापति थापासहित सबै प्रभावशाली नेताहरू पराजित हुन पुगेका थिए ।
तर चुनावी समीक्षाका २७ कारण पहिल्याउँदै विशेष पक्षले पटक–पटक गठबन्धन गर्नु, एमालेसँग सरकार बनाउनु, सरकारमा जाँदा प्रभावकारी काम गर्न नसक्नु, युवाको भावना नबुझ्नु जस्ता विषयलाई आधार मानेका छन् ।
यता सानेपामा बसिरहेको कांग्रेसको बैठकले चुनावमा आन्तरिक अन्तर्घातले २१ सिट गुमाएको निष्कर्ष निकालेको प्रवक्ता देवराज चालिसेले बताए । आइतबारको बैठकका क्रममा चालिसेले ५ हजारसम्मका हारजितको कारण अन्तर्घात भएको बताए । यता शेखर समूहका नेता सञ्जय गौतमले पनि कांग्रेस अन्तर्घातले नै चुनाव हारेको बताए । बर्दिया १ बाट उम्मेदवार बनेका गौतमले आन्तरिक कारण नै चुनाव हार्नुपरेको बताए ।
बर्दिया १ मा रास्वपाका ठाकुरसिंह थारु ४९ हजार ६३१ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका सालिकराम अधिकारी १४ हजार ६४३ मतान्तरले विजयी हुँदा कांग्रेसका गौतमले १२ हजार ७२२ मत ल्याएर तेस्रो भएका थिए । गौतम शेखर समूहका उम्मेदवार थिए । चुनावमा पराजय व्यहोरेका उनी अझै काठमाडौं नफर्किएको बताउँछन् । ‘म निर्वाचन क्षेत्रमै छु । अरुको भन्दा आन्तरिक कारण नै यसपटकको चुनाव हारियो । काठमाडौंबाट साथीहरूले बैठक भनेर बोलाएका छन् तर आइसकेको छैन’, उनले भने ।








