काठमाडौं । देशको ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाहले शुक्रबार नै पदभार सम्हालेका छन् ।
बालेन सरकारको मन्त्रिपरिषद्मा रास्वपाका तर्फबाट कास्की–१ बाट निर्वाचत खडकराज पौडेल (गनेस) संस्कृति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।
को हुन् पौडेल ?
पोखराको बौद्धिक वृत्तमा ‘गनेस’ सुपरिचित नाम हो । शब्द–साधना गर्ने उनी पठन संस्कृतिका अभियन्ता हुन् । पोखरामा पठन संस्कृति विकास गर्ने उद्देश्यसहित खुलेको संस्था र्यान्डम रिडर्सका संस्थापक सचिव हुन् । उनको आफ्नै ‘पैताला’ (०७४) उपन्यास र अनुवादकृति ‘मुसा मानुष’ प्रकाशित छन् ।
गनेसले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् ।
उद्यमीसमेत रहेका गनेसले पोखरामै सृजना ग्राम्स परिकल्पना गरे । विशेषगरी यो सृजना ग्राम्स लेखक तथा सर्जकका लागि आवासीय वातावरणमा अध्ययन–अुनसन्धानका लागि सञ्चालनमा ल्याए । ग्राम्समा फामहाउस, चमेनागृह तथा आवासीय सुविधा उपलब्ध छन् ।
यात्रा, लेखपढ, बौद्धिक विमर्श गर्न मन पराउने गनेसले समाजमा हुने भ्रष्टाचार, अनियमितता, विकृति–विसंगतिविरुद्ध आवाज उठाउँदै आएका छन् ।
बालेननिकट मानिले गनेस यसअघि ०७९ को स्थानीय तह निर्वाचनमा लौरो चुनाव चिह्न लिएर पोखरा महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवारी दिएका थिए । तर, त्यतिबेला उनले जित हासिल गरेनन् । यसपटक निर्वाचित भएका उनी पहिलो संसदीय यात्रामा नै मन्त्री बनेका छन् ।








