केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अवैध सम्पत्ति आर्जन तथा विभिन्न काण्डमा संलग्न पूर्वमन्त्री र प्रशासकहरूमाथि छानबिन गर्न सरकारले स्पष्ट म्यान्डेट दिएको छ। यही म्यान्डेटअनुसार हालै पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो।
भदौ २४ गते उनको निवासमा आगजनीको घटनापछि गरिएको अनुसन्धानका क्रममा नेपाली रुपैयाँसहित ठूलो परिमाणमा विदेशी मुद्रा बरामद भएको बताइएको छ। साथै, उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप समेत लागेको छ।
सीआईबी प्रमुख एआईजी मनोज केसी ले संक्षिप्त प्रतिक्रिया दिँदै खड्का पक्राउ परेको पुष्टि गरेका छन्। उनले ओम्नी, यती, गिरिबन्धु, बालुवाटार, लिच्छिबारीदेखि यूएन र लाउडासम्मका विभिन्न काण्डमा राजनीतिक संरक्षणका कारण रोकिएका अनुसन्धानहरू अब अघि बढाइने बताएका छन्।
यसबाहेक, हालसम्म चर्चामा नआएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न आयोग पनि छिट्टै गठन गरिने र त्यसले काम सुरु गर्ने तयारी भइरहेको जनाइएको छ।








