माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलि बाट सुरु हुँदैछ । परीक्षा चैत्र २९ सम्म सञ्चालन हुनेछ । यसपटक विद्यार्थीका उत्तरपुस्तिका परीक्षा सकिएको ३ दिनभित्रै परीक्षण गर्ने तयारी गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले उत्तरपुस्तिका ३ दिनभित्रै परीक्षण गर्ने र एक महिनाभित्रै परीक्षाफल प्रकाशित गर्ने तयारी भएको बताए ।

राष्ट्रिय परीक्षा बोर्डले पनि परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण गरी रिजल्ट एक महिनाभित्र निकाल्ने कार्यतालिका बनाएर सर्कुलर गर्न लागिएको छ । सापकोटाले भने, ‘परीक्षा केन्द्रहरूमै उत्तरपुस्तिका परीक्षणको व्यवस्था मिलाउन लागिएको छ ।’

विगतका वर्षहरूमा उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमार्फत संकलन गरी जिल्ला तथा प्रदेशमा परीक्षण गर्दा परीक्षाफल प्रकाशनमा ढिलाइ हुने गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले पनि एसइई परीक्षाको उत्तरपुस्तिका छिटो परीक्षण गरी एक महिनाभित्रै परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएका थिए ।