काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले पर्यटन क्षेत्रमा नेपालले हालसम्म हासिल गरेको उपलब्धिमा सबैभन्दा धेरै निजी क्षेत्रको योगदान रहेको बताएका छन् ।

महासंघको निर्वाचन नजिकिएको र सभापतिका रूपमा आफ्नो कार्यकाल सकिँदै गरेको क्षणमा बस्नेतले आफूले पर्यटन तथा हवाई यातायात समितिको सभापतिका रूपमा सरकार र मातहतका निकायसँग पटक–पटक गरेको छलफलले आशावादी नतिजाहरू देखिएको बताए ।

‘पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने विषय हामीले समितिमार्फत र महासंघमार्फत पटक पटक उठायौँ, सरकारले यी विमानस्थलमा उडान गर्ने एयरलाइन्स कम्पनीहरूलाई विभिन्न छुटहरू दिने स्किम पनि ल्यायो, केही समय चले पनि अहिले यी दुई वटै विमानस्थल अन्तर्राष्ट्रिय उडानमा उपयोग हुन सकिरहेका छैनन्’ बस्नेत भन्छन्, ‘अब नयाँ सरकारले यी दुई वटै अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि कूटनीतिक पहल बढाउनेमा हामी आशावादी छौँ ।’

उनले महासंघको पर्यटन समिति सभापतिका रूपमा पर्यटन ऐन संशोधन, होटेललाई उद्योग सरहको सुविधा, हवाई टिकटमा लगाइएको भ्याट सम्बन्धी प्रावधान पुनरावलोकन जस्ता विषयहरूमा प्रधानमन्त्री कार्यालय, सम्बन्धित मन्त्रालय, विभाग र मातहतका निकायहरूमा कैयौंपटक कुरा उठाएका थिए ।

जसको कारण अघिल्लो सरकारले ऐन संशोधन गरेर होटेललाई उद्योग सरहको मान्यता दिने निर्णयसमेत गरेको थियो । ‘अब उक्त प्रावधानको व्यवहारिक कार्यान्वयन आवश्यक छ’ बस्नेत भन्छन् । उनले नेपाललाई युरोपेली देशसँग सिधा हवाई सम्पर्कमार्फत जोड्नुपर्नेसमेत बताउँदै आएका छन् ।

यसका लागि नेपाली आकाशलाई ईयूको कालोसूचीबाट हटाउन नागरिक उड्डयन प्राधिकरणसहित सिङ्गो सरकारले नै सार्थक पहल गर्नुपर्ने उनको भनाइ छ । नेपाल पर्यटन बोर्डमार्फत विश्व बजारमा नेपालको ब्राण्डिङ गरिनुपर्ने र त्यसका लागि निजी क्षेत्र समेतको सहभागिता हुनुपर्ने जस्ता विषय पनि बस्नेतले उठाउँदै आएका छन् ।

२०८० जेठमा अध्यक्ष ढकालले बस्नेतलाई महासंघको पर्यटन तथा हवाई यातायात समितिको सभापतिमा नियुक्त गरेका थिए ।

उनले महासंघको पर्यटन तथा हवाई यातायात समितिको सभापतिका रूपमा काम गर्न प्रेरित गर्ने अध्यक्ष चन्द्र ढकाल र सिङ्गो पदाधिकारी टिमसहित उपसभापतिका रूपमा आफूलाई सहयोग गर्ने अच्युत शर्मा गुरागाइँ, निलहरी बाँस्तोलालाई धन्यवाद दिएका छन् ।

सदस्यहरू शिव अधिकारी, कुलप्रसाद न्यौपाने, सिर्जना श्रेष्ठ नेपाली, सचिन ढकाल, रमेश थापा र विनायक शाहलाई पनि धन्यवाद दिएका छन् । सल्लाहकारहरू शशिकान्त अग्रवाल, बिक्रम पाण्डे र हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.धनन्जय रेग्मीलाई पनि बस्नेतले उपर्युक्त सल्लाह र सुझावका लागि धन्यवाद दिएका छन् ।