२४ भदौको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले जेन-जी विद्रोहमा सहभागीमध्ये केही संसद् र सरकारमा पुगे पनि केही अझै थुनामा, तारिखमा र अदालतको कठघरामा रहेको भन्दै दुखेसो गरे। “कोही हामी संसदमा छौँ, सरकारमा छौँ। सरकारलाई अनुरोध गर्छु जेन-जी विद्रोहमा जेलमा रहेकाहरू थुनामुक्त हुने अवस्था सिर्जना गरोस्,” कानुन व्यवसायीसमेत रहेका न्यौपानेले भने।

जेन-जी आन्दोलनमा सहभागीहरूलाई मुद्दा चलाएको वा थुनेकोमा संसदमा विरोध जनाउने रास्वपा सांसद उनी एक्ला होइनन्। जेन-जी आन्दोलनमा सहभागी भएपश्चात् राजनीतिमा सक्रिय भई सांसद बनेका पुरुषोत्तम यादवले पनि २४ भदौको बैठकमा विद्रोहको जगमा सरकार गठन भएको स्मरण गराउँदै थुनामा रहेकालाई मुक्त गर्न माग गरे।