शुक्रबार,भाद्र १०,२०७९
जोमसोम । समुद्री सतहबाट २ हजार ५ सय मिटरभन्दा माथिको उचाइमा स्याउ खेती गरिन्छ। चिसो हावापानी र हिउँले भरिएको यहाँको स्याउ गुणस्तरीय र स्वादिलो हुने गर्छ। सहरबजारका स्याउ पारखी मुस्ताङको स्याउ भन्नेबित्तिकै हुरुक्कै हुन्छन् । यतिबेला हिमालपारिको जिल्ला मुस्ताङका फाँटमा लटरम्म स्याउ फलेका छन् ।
पाकेर रातै भएका स्याउले हाँगा नुहिएर भुइँसम्मै पुगेको छ। भदौ लागेसँगै मुस्ताङमा पर्यटकको उपस्थिति बाक्लिन थालेको छ । स्याउले भरिभराउ बगैंचाले यहाँ आउने पर्यटकलाई मोहित बनाएको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले विभिन्न स्थानको स्याउ बगैंचा अवलोकन गर्ने,फोटो खिच्ने र टिकटक बनाउने गर्छन् । घरपझोङ–२ का वडाध्यक्ष तथा किसान मानबहादुर हिराचनका अनुसार दैनिक १०० भन्दा बढी पर्यटक स्याउ बगैंचामा फोटो खिच्न आउने गरेको बताए । ‘यसवर्ष फल पनि राम्रो छ,’ उनले भने, ‘गाउँमा छुट्टै रौनक छ।’भनि उहाँले बताए ।