काठमाण्डाैँ,

नेपाल विद्युत प्राधिकरणको गौशाला शाखाले हुकिङ गरी विद्युत चोरी गर्ने १३ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्राधिकरणले ग्रामिण क्षेत्रका विभिन्न गाउँबाट नियन्त्रणमा लिइएको हो ।

शाखा प्रमुख प्रवीण झाकाअनुसार ग्रामिण इलाकामा विद्युत चोरीका घट्ना बढेको सूचनाको आधारमा सशस्त्र र नेपाल प्रहरीको सहयोगमा प्राधिकरणका कर्मचारीले राति २ बजे  सोनमा र औरहीको वडा क्षेत्रमा आकसमिक अनुगमन गरेको थियो ।

शाखा प्रमुख झाले अनुगमनका क्रममा अधिकांशका घरमा मिटर हुँदाहुँदै पनि हुकिङ गरेको पाइएको थियो भने दुई वटा व्यावसायिक कुखुरा फारमले समेत चोरीका विद्युत प्रयोग गरेको फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको बताउनु भयो ।

झाले नियन्त्रणमा लिइएका सबैलाई गौशालास्थित इलाका प्रहरीको हिरासतमा राखिएको छ ।  उनीहरुलाई विद्युत चुहावट ऐनले तोकेको जरिवाना लिएर छाडिने बताउनुभयो । ऐनमा हुकिङ गरि विद्युत चोरी गर्नेबाट चुहावट अनुसारको रकम र सोहीबराबर थप जरिवानाको व्यवस्था छ ।

प्राधिकरणको गौशाला शाखाले भने कुखुरा फारमलाई दुई–दुई लाख र बाँकीलाई जनही १६ हजारको दरले जरिवाना तिराएर छाडिने छ ।

पछिल्लो समय विद्युत चोरीविरुद्धको अभियान तीव्र पारेको गौशाला शाखाले साउनदेखि चैत दोश्रो हप्तासम्म विद्युत अनियमितता गर्ने १२३ जनाविरुद्ध कारवाही गरी जरिवानावापत ३२ लाख रुपियाँ असुल उपर गरेको छ ।

प्राधिकरणको गौशाला शाखाअन्तर्गत बर्दिबास, गौशाला, औरही, भंगाहा सीतापुर नगरपालिका र सोनमा गाउपालिका गरी पाँच स्थानीय तहमा पचपन्न हजार विद्युत ग्राहक छन् ।