अमेरिकाकी चर्चित टिभी प्रस्तोता बारबरा वाल्टर्सको ९३ वर्षको उमेरमा निधन भएको छ । आधा दशक टेलिभिजनमा बिताएकी बारबरा सन् १९७६ मा एबीसी न्यूजमा आबद्ध भएसँगै अमेरिकाको पहिलो महिला समाचार प्रस्तोता बनेकी थिइन् ।सन् १९२९ मा बोस्टनमा जन्मिएकी बारबराले १२ वटा एमी अवार्डसमेत जितेकी थिइन् । उनले रिचार्ड निक्सनदेखि डोनाल्ड ट्रम्पसम्म सबै अमेरिकी राष्ट्रपतिको अन्तरवार्ता लिएकी थिइन् ।  उनले सन् १९६१ मा पत्रकारिताको करियर सुरुवात गरेकी थिइन् ।

एनबीसीमा उनले महिला सम्बन्धी कार्यक्रम चलाउँथिन् । पुरुषहरूको वर्चश्व रहेको उद्योगमा उनले प्रगति गर्दै सन् १९७४ मा अमेरिकी समाचार कार्यक्रम एनबीसीको ‘टुडे शो’ मा अमेरिकाकी पहिलो महिला सह–प्रस्तोता बनिन् ।

एबीसीमा पहिलो महिला समाचार प्रस्तोता बनेसँगै उनको १० लाख डलरको तलबले उनलाई मिडियाको सुपरस्टार बनाएको थियो । ५२ वर्ष मिडियामा बिताएपछि उनले सन् २०१४ मा सन्यास लिएकी थिइन् । उनको अन्तिम कार्यक्रममा हिलारी क्लिन्टन र ओपरा विन्फ्री सहभागी भएका थिए ।