उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले मुलुककै दोस्रो सबैभन्दा शत्तिशाली सैनिक अधिकारीलाई बर्खास्त गरेका छन् ।

किमले सेनामा व्यापक हेरफेर गर्ने क्रममा यो कारबाही गरेका हुन् । सन् २०२२ को तुलनामा यसपालि दोब्बर सङ्ख्यामा सैनिक अधिकारीहरुको पदोन्नोति गरिएको इन्डिपेन्डेन्टले लेखेको छ

उत्तर कोरियाको सरकारी समाचार निकाय केसीएनएका अनुसार गतवर्ष अप्रत्यासित सङ्ख्यामा भएको क्षेप्यास्त्र परीक्षणको नेतृत्व गरेका सैनिक अधिकारी पाक जोङ–चोनलाई हटाइएको हो । केन्द्रीय सैनिक आयोगको उपाध्यक्ष पदमा उनको स्थानमा रक्षामन्त्री री योङ गिलिसलाई नियुक्त गरिएको छ ।

गतसाता बसेको सत्तारुढ वर्कस पार्टीको वार्षिक पूर्ण बैठकमा सरकारी अधिकारीको हेरफेरका लागि गरिएको निर्णयअनुसार सेना, पार्टीका क्षेत्रीय नेतादेखि सरकारमा समेत गरी कम्तिमा ५३ जनाको नाम सिफारिस भएको थियो ।

रीलाई पाकले नै सम्हाल्दै आएको पार्टीको केन्द्रीय समितिको सचिवको कार्यभार पनि सुम्पिएको छ । किमको नेतृत्वमा रहेको पार्टीको केन्द्रीय सैनिक आयोग उत्तर कोरियाको सबैभन्दा शक्तिशाली सैनिक निकाय मानिन्छ । यो निकाय रक्षा मन्त्रालयभन्दा माथि रहेको छ ।

पूर्ण बैठकको सुरुमा अन्य सदस्यहरुले आफ्ना निजी भनाइमाथि मत जाहेर गर्न हात उठाइरहेकाबेला पाक पोडियमको अग्र पङ्तिको मेचमा झोक्राएर बसेका थिए । पछि सरकारी टेलिभिजनमा उनको मेच खाली देखाइएको थियो ।