दशैं–तिहारपछि आन्दोलन घोषणा गर्दै दुर्गा प्रसाईँ, झापामा स्वागत कार्यक्रम तय
काठमाडौं । व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईँले दशैं, तिहार र छठ पर्व सम्पन्न भएलगत्तै नयाँ आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। उनले जेन–जि आन्दोलनमाथि भएको विश्वासघात र मुलुकलाई नयाँ संविधानको खाँचो औंल्याउँदै सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन्।
फेसबुकमार्फत प्रसाईँले भनेका छन्, “जबसम्म हामी आफैं जन्मेको माटोको सुगन्धसँग मेल खाने आन्दोलन र यसै भूमिको आत्मासँग जोडिएको संविधान बनाउन सक्दैनौं, तबसम्म हरेक दशकमा यो मुलुकमा रगतको खोलो बगिरहन्छ।”
उनका अनुसार विदेशीको इशारामा लेखिने वा विदेशीलाई खुसी पार्ने संविधान होइन, नेपालको माटो सुहाउने, नेपालीको सपना र भावनासँग मेल खाने संविधान समयको आवश्यकता हो। उनले थपे, “नयाँ पुस्ताले आफ्नै हातले नयाँ संविधान लेख्नेछन्— जसमा स्वाभिमान, नेपालीपन र राष्ट्रिय पहिचान स्पष्ट झल्किनेछ।”
यसैबीच, प्रसाईँको गृहजिल्ला झापामा असोज ९ गते विशेष स्वागत कार्यक्रम तय भएको छ। बिर्तामोडमा आयोजना हुने शुभकामना आदान–प्रदान कार्यक्रममा उनी सहभागी हुने कार्यक्रम रहेको संयाेजक ओम लुईटेलले जानकारी दिए। सो दिन प्रसाईँलाई मोटरसाइकल र्यालीमार्फत भव्य स्वागत गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।