जलेश्वर (महोत्तरी) । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माघे संक्रान्ति पर्वको भव्य तयारी भइरहेको छ । माघे संक्रान्ति पर्व मिथिलाञ्चलमा तिलासंक्रान्ति पर्वका नामले पनि प्रसिद्ध छ ।लोकभाषामा तिलासंक्रान्ति भनिन्छ भने कतैकतै तिला संक्रायत पनि भनिन्छ ।
यस पर्वमा मिथिलाको घर घरमा चिउरा, भूजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन छ । चामल, दाल, घीउ र तरकारी एकै साथ मिसाएर बनाइएको खिचडीसमेत खाने चलन रहेकाले अहिले यहाँका घर घरमा पर्वमा परिकार बनाउन आवश्यक वस्तु सख्खर, चिउरा, भुजा, तिल, अदुवा, विशेष प्रकारको चामल, उरिद र कुर्थीको दाल, घिउ, तरुल तथा अन्य मिठो तरकारी जुटाउनमा सर्वसाधारण व्यस्त छन् ।
किनमेलका लागि महोत्तरी सदरमुकाम जलेश्वरसहित मिथिलाको प्रत्येक हाटबजारमा भीडभाड बढेको छ । यस पर्वका लागि मिथिलाञ्चलका घरघरमा ८/१० दिन पहिलेदेखि तिल, चिउरा, भुजा र सक्खर ल्याएर मिथिलानीहरू लड्डु बनाउने गर्दछन् ।








