काठमाडौं । नेपालमा सामग्री खोज्ने प्रमुख माध्यमका रूपमा टिकटकको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । टिकटकको खोज सुविधामार्फत प्रयोगकर्ताले नयाँ विचार पत्ता लगाउने, व्यावहारिक सीप सिक्ने, प्रेरणा लिने तथा आफ्नै संस्कृति, भाषा र दैनिक जीवनसँग सम्बन्धित सामग्री खोज्ने प्रवृत्ति बढेको देखिएको छ ।
प्रयोगकर्ताले टिकटकलाई दृश्यात्मक र छिटो बुझ्न सकिने माध्यमका रूपमा प्रयोग गर्न थालेका छन् । परीक्षाको तयारी, यात्रा योजना, ताजा समाचार बुझ्ने, नयाँ सीप सिक्ने जस्ता विषयमा छोटा भिडियोमार्फत समयमै जानकारी खोज्ने क्रम बढेको टिकटकले जनाएको छ । यसले सिर्जनाकर्ताले तयार गर्ने वास्तविक अनुभवमा आधारित र सरल सामग्रीप्रति प्रयोगकर्ताको रुचि बढाएको कम्पनीको दाबी छ ।
पछिल्ला एक वर्षमा शिक्षा, संस्कृति, खाना, यात्रा, सौन्दर्य, जीवनशैली तथा दैनिक जीवनसँग सम्बन्धित विषयमा ‘कसरी गर्ने’ प्रकारका खोज उल्लेखनीय रूपमा बढेको कम्पनीको दाबी छ ।
टिकटकका अनुसार नेपाली प्रयोगकर्ता वास्तविक जीवनसँग सम्बन्धित प्रश्नको उत्तर खोज्न यस माध्यमतर्फ आकर्षित भइरहेका छन् । सिकाइ, यात्रा, पुस्तक र खानासँग सम्बन्धित विषयमा खोजको संख्या उल्लेखनीय रूपमा बढेको टिकटकले जनाएको छ ।
संवेदनशील विषय खोज्दा प्रयोगकर्तालाई विश्वसनीय र सहयोगी स्रोततर्फ मार्गदर्शन गरिने व्यवस्था गरिएको छ । मानसिक स्वास्थ्य सहायता, प्राकृतिक प्रकोप, गलत जानकारी तथा सार्वजनिक सुरक्षासँग सम्बन्धित विषयमा यस्ता हस्तक्षेप लागू गरिएको टिकटकले जनाएको छ ।
टिकटक दक्षिण एसियाकी विश्वास तथा सुरक्षा प्रमुख आस्मा अन्जुमले खोज सुविधा सुरक्षालाई केन्द्रमा राखेर विकास गरिएको बताइन् । उनका अनुसार संवेदनशील विषय खोज्दा प्रयोगकर्तालाई तथ्यपरक, जिम्मेवार र हितकारी मार्गदर्शन प्रदान गरिन्छ ।
दक्षिण एसियाभर टिकटकलाई खोज गन्तव्यका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको टिकटकको दाबी छ । सरल, दृश्यात्मक र प्रामाणिक जानकारीको माग बढिरहेका बेला टिकटकले नयाँ प्रविधि, सुरक्षा संरचना र स्थानीय सहकार्यमा लगानी बढाउँदै खोज सुविधालाई भविष्यमा पनि सामग्री खोज्ने प्रमुख माध्यमका रूपमा विकास गर्ने जनाएको छ ।








