काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनमा भोलि पार्टीका सबै तहका कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।
साथै, बैठकले पुस २६, २७ र २८ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यकालहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षीय होमनाथलाई हृदयाघात भएपछि उपचारका लागि गएराति वीर अस्पताल लगिएको थियो । उपचारको क्रममा होमनाथको निधन भएको पारिवारले जनाएको छ ।








