काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका पदाधिकारीलाई विशेष महाधिवेशनमा आउन आग्रह गरेका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई महाधिवेशनमा उपस्थित भएर उत्सवका रूपमा मनाउने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

उनले विशेष महाधिवेशनलाई नजर अन्दाज नगरी उत्सवका रूपमा लिन आग्रह गरे । ‘विशेष महाधिवेशनलाई नजरअन्दाज नगर्नुस् । फागुन २१ को निर्वाचनमा दिग्बिजय बनाउने उत्सवको रूपमा लिन आग्रह गर्दछु,’ घिमिरेले भने ।

विरोधीका कुरा सुन्ने विरोधीलाई ठाउँ दिने सहनशील पार्टीलाई यस्तो ठाउँमा पुर्‍याएको भन्दै सभापति देउवासहितका पदाधिकारीको आलोचना गरे । ‘हामीमाथि पत्थर फ्याँक्नु भएको छ हामी फूल फालेर भन्न चाहन्छौँ । हामी एकताबद्ध र बलियो कांग्रेस चाहन्छौँ,’ घिमिरेले भने ।

घिमिरेले आफूहरूले विशेष महाधिवेशन गरेरै छाड्न गरेको प्रतिबद्धता पूरा गरेको बताए ।

निर्वाचन आएको बेलामा पार्टीमा एकताको खाँचो रहेको भन्दै घिमिरेले एकताबद्ध बनाउने वातावरण निर्माण गर्न सभापति देउवालाई घिमिरेले आग्रह गरे ।