नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले इतिहासको ब्याजमात्रै खाएर भविष्य नचल्ने बताएका छन्।

सभापति शेरबहादुर देउवा निकट मानिएका श्रेष्ठ विशेष महाधिवेशनको पक्षमा खुल्दै आइतबार भृकुटीमण्डपस्थल पुगेका हुन्।

महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले इतिहासमा कांग्रेसले राणा शासन फालेको, पञ्चायत ढालेको, गणतन्त्र ल्याएको भए पनि अब नयाँ ढंगले पार्टी अघि बढ्नुपर्ने बताएका हुन्।

‘हामी गर्वका साथ भन्छौं- नेपाली कांग्रेसले राणा फाल्यो, पञ्चायत ढाल्यौं, देशमा गणतन्त्र ल्यायौं। तर इतिहासको ब्याजमात्रै खाएर अब भविष्य चल्दैन,’ उनले भने।

उनले अब युवा पुस्तालाई अघि बढाउनुपर्ने पनि बताए।‘समय बदलिएको छ, पुस्ता बदलिएको छ, अपेक्षा बदलिएको छ। अब चल्ने शैली पनि बदल्नुपर्छ। अब नयाँ युवाहरूलाई अगाडि सार्नुपर्छ,’ उनले भने, ‘नयाँ युवायुवतीलाई देशको हरेक ठाउँमा ल्याउनुपर्छ।’

उनले नेताहरूले अब कांग्रेस पार्टी बनाउनका लागि जस्तोसुकै त्याग गर्नलाई पनि तयार हुनुपर्ने बताए। लोकतन्त्र बलियो बनाउनका लागि पनि कांग्रेसलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो।