काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले हालसम्म एक लाखभन्दा बढी भिसा रद्द गरेको छ । यसमा करिब आठ हजार विद्यार्थी भिसा र दुई हजार ५०० विशेष श्रेणीका भिसाहरू समावेश छन् ।
यी भिसा अमेरिकामा आपराधिक गतिविधिहरूका कारण अमेरिकी कानुन कार्यान्वयन निकायहरूको फन्दामा परेका व्यक्तिहरूको भएको फक्स न्युजले जनाएको छ ।
अमेरिकालाई सुरक्षित राख्न यस्ता ‘अपराधी’हरूलाई देश निकाला गर्ने प्रक्रिया आगामी दिनमा पनि जारी रहने बताइएको छ ।
अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता टमी पिगटले भिसा रद्द गरिएका व्यक्तिहरूमा कुटपिट, चोरी र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेजस्ता आरोप लागेका वा सजाय पाएका विदेशी नागरिक रहेको बताएका छन् ।
पिगटले लेखेका छन्, “एक वर्षभन्दा कम समयमा ट्रम्प प्रशासनले एक लाखभन्दा बढी भिसा रद्द गरेको छ ।” उनले यसलाई अध्यागमन कानुन कडाइका साथ लागु गर्ने दिशामा एउटा महत्वपूर्ण कदम बताएका छन् ।
सन् २०२५ मा रद्द गरिएका भिसाहरूको संख्या हालसम्मकै उच्च भएको फक्स न्यूजको समाचारमा उल्लेख छ । यो आँकडा पूर्वराष्ट्रपति जो बाइडनको कार्यकालमा सन् २०२४ मा रद्द गरिएको कुल भिसाको तुलनामा दोब्बरभन्दा बढी हो ।
विदेश मन्त्रालयले फक्स न्युजलाई बताए अनुसार धेरैजसो मामिलामा ती व्यवसायी र पर्यटक यात्रीहरूको भिसा रद्द गरिएको छ, जसले तोकिएको समयभन्दा बढी अमेरिकामा बसेर भिसा नियम उल्लंघन गरेका थिए ।
यससँगै मादक पदार्थ सेवन गरी सवारी चलाएको, कुटपिट, चोरी र बालबालिकासँग सम्बन्धित अपराध, ठगी र अन्य आपराधिक मामिलामा गिरफ्तारी वा आरोप लागेका व्यक्तिहरू, लागुऔषध तस्करीमा संलग्न रहेको आरोपमा करिब ५०० विद्यार्थी भिसा पनि रद्द गरिएको छ ।
तीव्र गतिमा भइरहेको देश निकालाको कारबाहीका साथै अब भिसा जारी गर्ने मापदण्डहरूलाई पनि निकै कडा बनाइएको छ । यसले सार्वजनिक सुरक्षा र राष्ट्रिय सुरक्षाका सवालमा सरकारको कठोर अडानलाई संकेत गर्ने गरेको छ ।








