काठमाडौँ । हेटौँडा बजार क्षेत्रको सडक विस्तार विवादबारे सर्वोच्च अदालतमा पेस भएको रिट आठौँ पटक पेसी सूचीमा चढेको छ ।
रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसकारसहित ६ जनाले दायर गरेको रिटको पेसी मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाइका लागि तोकिएको हो ।
डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर लगायतका निकायहरूले सडक विस्तार गर्ने प्रक्रिया अघि बढाएपछि सम्पत्तिको अधिकार र मुआब्जाको माग गर्दै मङ्सिर १६ मा स्थानीयहरू सर्वोच्च पुगेका थिए । सडक विभाग, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले मङ्सिर ९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
उक्त मुद्दामा मङ्सिर २६ मा पेसी तोक्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश समेत दिएको थियो । मङ्सिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्य आदेश ‘मिसिल झिकाउने आदेश’ जारी गरेको थियो ।








