आकर्षक तलबको प्रलोभन देखाई बेरोजगार युवायुवतीलाई विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ।
पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा लामो समयसम्म विदेश पठाउने आश्वासन दिएर रकम उठाई सम्पर्कविहीन बनेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
पक्राउ पर्नेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ३० वर्षीय अभिशेष कराला रहेका छन्। हाल काठमाडौँ तार्केश्वर नगरपालिका–५ मा बसोबास गर्दै आएका करालाले माल्दिभ्स पठाइदिने भन्दै एक जनाबाट तीन लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनलाई सोमबार काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरिएको हो।
त्यसैगरी ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–५ की ३७ वर्षीया सुनिता ईधिङगो लिम्बु पनि पक्राउ परेकी छन्। हाल काठमाडौँ महानगरपालिका–३२ मा बसोबास गर्दै आएकी लिम्बुले युएई पठाइदिने भन्दै एक जनाबाट एक लाख ५० हजार रुपैयाँ लिएको अभियोग छ। उनलाई पनि सोमबार सोही स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसै घटनामा अर्घाखाँची मालारानी गाउँपालिका–१ का ४६ वर्षीय चेतनारायण आचार्य पनि पक्राउ परेका छन्। हाल बुढानिलकण्ठ नगरपालिका–७ मा बस्दै आएका आचार्यले बेलायत पठाइदिने भन्दै एक जनाबाट १३ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनलाई सोमबार काठमाडौँ महानगरपालिका–२६ बाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार तीनै घटनामा प्रत्येक मुद्दामा एक–एक जना पीडित रहेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिएका छन्।








