नेपाली कांग्रेस पार्टी एक हुनुपर्छ भन्ने पक्षमा रहेका नेता शेखर कोइराला अहिले संस्थापन समूहसँगै छन् । संस्थापन समूहसँगै कोइराला शुक्रबार निर्वाचन आयोग पुगेका थिए । त्यस क्रममा उनले व्यक्तिलाई होइन, संस्थालाई मान्यता दिन आयोगसमक्ष आग्रह गरेका थिए ।
‘म एउटै प्रश्न गर्न चाहन्छु– आज टुँडिखेलमा गईकन कुनै निर्वाचन आयुक्तले माघ ६ गते नोमिनेसन (मनोनयन) हुँदैन भन्यो भने त्यो निर्वाचन आयोगलाई मान्य हुन्छ कि हुँदैन ? व्यक्ति होइन, हामीहरूले संस्था खोजेको हो । संस्थालाई हेरेर हामी अगाडि जानुपर्ने हुन्छ,’ उनले भने ।
तर, कोइराला पार्टी मुख्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा भने बोलेनन् । उनलाई बोल्नको लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समय दिएका थिए । तर कोइरालाले रुचि देखाएनन् ।
कोइराला नबोलेपछि पत्रकारको एउटा मात्र प्रश्नको उत्तर दिएर खड्काले कार्यक्रम समापन गरे । अनि जाँदाजाँदै आफूहरू निर्वाचन आयोग जान लागेको बताए ।








