नेपाली सेनाको ‘फोटो तथा बृहत् प्रदर्शनी–२०८२’ आइतबार (माघ ४)बाट काठमाडौंमा सुरु भएको छ ।

सैनिक मुख्यालय जंगीअड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्देलले प्रदर्शनीको उद्घाटन गरेका छन् ।

आमनागरिकलाई नेपाली सेनाका विविध गतिविधिबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।

कार्यक्रममा प्रधानसेनापतिले नेपाली सेना फोटो प्रतियोगिता–२०८२ का उत्कृष्ट तीनजना गैरसैनिक फोटोग्राफर, तीनवटा नेपाली सेनाका युनिट र एकजना जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफरलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद्

व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दललगायत गतिविधि समेट्ने गरी कुल ३१ वटा स्टल राखिएका छन् ।

सेना दिवस–२०८२ का अवसरमा माघ ७ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा आमनागरिकलाई जंगीअड्डाको पश्चिम गेटबाट निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।