रास्वपा सभापति रवि लामिछानेमाथि लगाइएको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाइ ‘हेर्न नमिल्ने’मा परेको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो । तर, हेर्न नमिल्नेमा परेको हो । अब यही माघ ११ गतेका लागि पेसी तोकिएको छ ।

यसअघि यही माघ ६ गते न्यायाधीश अजीज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गर्दै छलफलमा बोलाएको थियो ।महान्यायाधिवक्ताको कार्यालयले रविमाथि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिने र सहकारी ठगीको अभियाेग यथावत् राख्ने गरी संशोधन गर्न सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयलाई स्वीकृति दिएको थियो ।

यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सिन्धुलीका युवराज पौडेल सफल, आयुष भण्डारीसमेतले रिट दायर गरेका थिए ।

रिट निवेदकको मागअनुसार निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा निर्णय लिन सर्वोच्चले महान्यायाधिवक्ता सविता भण्डारी बराललाई छलफलमा डाकेको थियो । उक्त मुद्दालाई अग्राधिकारसमेत प्रदान गरिएको छ ।