आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् ।
प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार पुरुष मतदाता सङ्ख्या नौ लाख १४ हजार ५३५ र महिलाको सङ्ख्या नौ लाख ५५ हजार ५१६ रहेको छ । गण्डकी प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या ४० हजार ९८१ ले बढी रहेको छ ।
निर्वाचन कार्यालयका अनुसार प्रदेशका ११ वटा जिल्लामध्ये सबैभन्दा बढी मतदाता कास्कीमा रहेका छन् । कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन् । सबैभन्दा कम मनाङमा मतदाता सङ्ख्या जम्मा सात हजार छन् ।
गोरखामा एक लाख १४ हजार ८३७ पुरुष र एक लाख १४ हजार २२० महिला मतदाता छन् । लमजुङमा ६७ हजार छ सय पुरुष र ६९ हजार ५२४ महिला रहेका छन् । त्यसै गरी तनहुँमा एक लाख २३ हजार ४९१ पुरुष र एक लाख ३० हजार ९०६ महिला, स्याङ्जामा एक लाख २२ हजार ४६४ पुरुष र एक लाख २६ हजार ३५१ महिला मतदाता रहेका छन् । बागलुङमा ९४ हजार ८०६ पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या ९८ हजार ५७४ रहेको छ । पर्वतमा ६२ हजार छ सय पुरुष र ६२ हजार ८६५ महिला मतदाता कायम भएका छन् ।
नवलपुरमा पुरुष मतदाताको सङ्ख्या एक लाख २९ हजार ५४ छ भने महिला मतदाताको सङ्ख्या एक लाख ३९ हजार ४६८ छ । मुस्ताङमा पाँच हजार ५५९ पुरुष मतदाता, महिला पाँच हजार ७६८, म्याग्दीमा ४२ हजार ३०२ पुरुष र ४४ हजार ६४ महिला मतदाता रहेका छन् । महिला र पुरुषबाहेक अन्य मतदाताको सङ्ख्या १४ रहेको सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।








