प्रतिनिधि सभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान शिक्षामन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन्।

शुक्रबार पुनले निर्वाचन अधिकृतको कार्यालय पुगेर त्रिभुज चुनाव चिह्न रोजेका हुन्। निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई सकभर रोजेकै चुनाव चिह्न दिने गरेको छ।

उनी म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्। म्याग्दीमा एउटै मात्रै निर्वाचन क्षेत्र रहेको छ।

आयोगले शुक्रबार प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ। आयोगले शुक्रबार दिउँसोसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो। त्यसपछि चुनाव चह्नि वितरण गरेको हो।

प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि देशभर ६८ वटा राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४३० उम्मेदवार रहेका छन्।