पहिलोपटक मधेसबाट प्रतिनिधि सभा चुनाव लड्न लागेका आफ्ना सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेसले जनकपुरमा चुनावी सभा गर्ने भएको छ।

कांग्रेसका प्रदेश सभापति कृष्ण यादवले नेपालखबरलाई दिएको जानकारीअनुसार पार्टीले यही माघ १६ गते जनकपुरमा मधेस सभा गर्ने भएको हो।

‘हामी त्यसको प्रारम्भिक तयारीमा लागेका छौँ’, उनले भने।

कांग्रेस सभापति बनेपछि गगन थापा पहिलोपटक मधेसको सर्लाही-४ बाट चुनाव लड्दै छन्।

गत पुस ३० गते काठमाडौँमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापति घोषणा गर्दै नयाँ कार्यसमिति चयन गरेको हो।

उक्त कार्यसमितिका पदाधिकारी/सदस्यले शुक्रबार मात्र पार्टी कार्यालय सानेपामा पदबहाली गरेको थियो।

उक्त दिनको बैठकले सभापति थापालाई (विजयी भएमा) प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय पनि गरेको छ।