काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मधेशका श्रमिक, फुटपाथ व्यवसायी र निमुखा समुदायलाई काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख तथा हालका रास्वपा नेता बालेन शाहले लखेट्ने काम गरेको आरोप लगाएका छन् ।
आम जनता पार्टीको बागमती प्रदेश कमिटीद्वारा शनिबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित निर्वाचन परिचालन समितिको बैठकलाई सम्बोधन गर्दै साहले बालेन शाहले मेयर पदमा रहँदा मधेशबाट श्रम गर्न आएका श्रमिक, साना व्यापारी, गरिब आमा–दिदीबहिनी र भुइँमान्छेमाथि दमन गरेको आरोप लगाएका हुन् ।
उनले काठमाडौंको मेयर हुँदा तरकारी तथा फलफूल बेच्नेहरूको साइकल खोस्ने, कवाडी व्यवसायीलाई उठीबास लगाउने र फुटपाथमा व्यवसाय गर्न खोज्ने गरिब महिलालाई खेद्ने काम कसले गर्यो भन्दै प्रश्न गरे। ‘काठमाडौंको मेयर हुँदा मधेशी श्रमिक र निमुखालाई लखेट्ने को थियो ? फुटपाथमा केही गरेर बाँच्न खोज्ने गरिब आमाहरूलाई खेद्ने को हो ?’ साहले प्रश्न गरे।
साहले उखु किसान चिसोमा खाली खुट्टा माइतीघर मण्डलामा आन्दोलन गर्न आउँदा बालेन शाहले नभेटेको र कुनै आवाज पनि नउठाएको दाबी गरे। मिटरब्याज पीडितहरू न्याय माग्दै काठमाडौं आइपुग्दा पनि भेट्न फुर्सद नपाएको भन्दै उनले आरती साहको परिवारले न्याय माग्दा समेत बालेन शाह मौन बसेको आरोप लगाए।
उनले छठ पर्वका लागि काठमाडौंमा घाट बनाउन नदिएको आरोपसमेत लगाउँदै अहिले चुनावको मुखमा मधेश झरेर ‘म मधेशको छोरा हुँ’ भन्ने भाषण गर्दा कति पनि नसुहाएको बताए ।
साहले बालेन शाहलाई जेनजी आन्दोलनलाई हाईज्याक गर्ने पात्रको संज्ञा दिँदै काठमाडौंको मेयर पदमा रहँदा जनतासँग सम्बन्ध नै स्थापित गर्न नसकेको आरोप लगाए। उनले ‘खोपीको देउता’ बनेर बस्ने व्यक्तिले राजनीति र जनताको सेवा गर्छु भन्नु आफैंमा अपत्यारिलो भएको टिप्पणी गरे।
यसै कार्यक्रममा साहले केपी ओली, आरजु राणा र रमेश लेखक जेनजी आन्दोलनको दमनकारी भएको आरोप लगाए ।
आजपा नेता धनकुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनादेश पार्टीका अध्यक्ष रमण कर्ण, आजपा सहअध्यक्ष तिलक थापामगर, नेता एवं वरिष्ठ पत्रकार ऋषि धमला, उपाध्यक्ष एलिजा गौतमलगायतको सहभागिता रहेको थियो ।








