काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको बताएका छन् । गृहजिल्ला झापाबाट शुक्रबार (माघ ९) काठमाडौं फर्कने क्रममा सरकारले विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गरेको उनले बताए ।
शनिबार (माघ १०) पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले माथिबाट आदेश आएको छ भनेर विमानस्थलमा आफूमाथि अपमानित व्यवहार गरिएको गुनासो गरे । विमानस्थलमा गरिएको उक्त व्यवहारले आफूलाई सभ्य समाजमा नभएको जस्तो भान भएको उनले बताए ।
देशलाई फेरि पनि सही बाटोमा अघि बढाउन एमालेले सरकार बनाउनुको विकल्प नभएकामा उनले जोड दिए ।
केपी ओलीको भनाइ पढ्नोस्–
अस्ति म यताबाट झापा जाँदा मलाई अलि राम्रै व्यवहार गरेको थियो, एयरपोर्टहरूमा । हिजो फर्केर आउँदा केके न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरेको छ, के गरेको छ । हैरान पारेको छ । अचम्मै, त्यो विदेश जाँदाखेरि कहिले कहिले, त्यो विदेश जाँदा पनि चिनेको ठाउँहरूमा हामीलाई त्यस्तो गर्दैन । नचिनेको ठाउँमा परियो भने देखिन्छ नेपालीहरूलाई हेपेको । हिजो एयरपोर्टमा त्यस्तै गरेर हेप्यो । किन त्यस्तो गरेको भन्दा माथिबाट आदेश आएको छ भन्छ । यो सरकार के गर्दै छ भन्दा बेथिति भइराखेको छ, अन्याय भइराखेको छ, बेठिक भइराखेको छ, तर सरकार हामीलाई दुःख दिने काममा लागिराखेको छ । अपमान गर्ने काममा लागिराखेको छ । हामी आफ्नै सम्मानका लागि लडिरहेको होइन, देशको सम्मानका लागि, जनताको सम्मानका लागि, जनताको इज्जतको लागि लडिराखेको छौँ । त्यसकारण त्यो धेरै ठूलो कुरा मान्दिनँ म । तर, सरकारको दृष्टिकोण, सरकारको मतिचाहिँ के हो ? नेताहरूको अपमान गर्ने हो नि ! त्यो सरकारले हिजै देखायो । कस्तो लाग्यो भने, एउटा सभ्य समाजमा हामी छैनौँ कि जस्तो लाग्यो । एउटा जिम्मेवार सरकार होइन, अराजनीतिक, असभ्य सरकार छ । यी सबै कुराहरू हामीले फेरि सभ्य, सुसंस्कृत समाजमा ल्याउनुपर्नेछ । त्यो सबै कुरा चुनावको फैसलाबाट देखिन्छ ।








