हेटौंडा — लागुऔषध, यौन दुर्व्यवहार र सवारी ज्यान मुद्दामा अदालतद्वारा दोषी ठहर भएर फरार रहेका ६ प्रतिवादीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
बालयौन दुर्व्यवहार मुद्दाका फरार अभियुक्त धादिङ गजुरी-७ का २१ वर्षिय अनुप ढकाललाई प्रहरीले पक्राउ गरेको छ। बालयौन दुर्व्यवहार मुद्दामा जिल्ला अदालत मकवानपुरले ढकाललाई ६ महिना कैद र ४१ हजार ६ रुपैयाँ जरिवाना फैसला गरेको थियो ।
यसैगरी लागुऔषध मुद्दाका फरार प्रतिवादी हेटौंडा उपमहानगरपालिका-१४ का ३२ वर्षिय रामबहादुर गोलेलाई प्रहरीले पक्राउ गरेको छ । गोलेलाई जिल्ला अदालत मकवानपुरले एक वर्ष ६ महिना कैद गर्ने फैसला गर्नुको साथै २० हजार ८ सय रुपैयाँ जरिवाना तोकेको छ ।
यसैगरी सवारी ज्यान मुद्दाका फरार अझियुक्त मनहरी-७ का ४२ वर्षीय सुनिल मोत्तानलाई प्रहरीले पक्राउ गरेको छ । मोक्तानलाई अदालतले १ महिना कैद र २४ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । सवारी ज्यान मुद्दाका फरार अभियुक्त मनहरी-७ का ७७ वर्षिय चन्द्रबहादुर तामाङलाई प्रहरी पक्राउ गरेको छ।
जिल्ला अदालत मकवानपुरले उनलाई १ वर्ष कैद र २४ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।यसैगरी यौन दुर्व्यवहादुर मुद्दाका फरार अभियुक्त हेटौंडा-७ का ४५ वर्षीय दिपेन्द्र तिवारीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतले उनलाई एक महिना कैद र १२ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । लागुऔषध मुद्दामा एक महिना कैद र १२ हजार जरिवाना तोकिएका हेटौंडा-१४ का अमित लामालाई प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेको हो।
६ जना फरार अभियुक्तलाई गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी पुस्कर बोगटीले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनयतादेखि पुससम्म ६३ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइसकेको छ ।







