कैलाली प्रहरीले पत्नीको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

आफ्नै श्रीमती ३० वर्षीया हिरा दाहालको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-१३ राजपुर डेरा गरी बस्ने सोही उपमहानगरपालिका-८ घर भएका सतिङ दाहाललाई प्रहरीले पक्राउ गरेको हो।

घटनापछि आइतबार राति उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घरायसी बादबिबादको क्रममा सतिङले कुटपिट गर्दा गम्भीर घाइते भएकी हिराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

खबरपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सेती प्रादेशिक अस्पताल नजिकबाट सतिङलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।