दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-३ मिर्गेका ८९ वर्षीया ललितबहादुर राउत हिजोआज सिकिस्त बिरामी छन् । पछिल्लो एक महिना देखि उनी ओछ्यानमै थला परेर बसेका छ । केहिदिन अघि अस्पतालबाट उपचार गरेर फर्केका राउतको स्वास्थ्य अवस्था अहिले पनि उस्तै छ ।

राउत विना सहारा बाहिरभित्र पनि गर्न सक्दैनन्। उनी बिरामी परेर थलिएको थाहा पाए पछि मंगलबार वैतेश्वर गाउँपालिका-३ का वडा अध्यक्ष तथा स्थानीय प्राइम कमर्सियल बैंकको एक टोली उनको घर पुग्छ । उनले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता लिएर उनको घरमै पुगेका वडा अध्यक्ष तथा अन्य कर्मचारीलाई देखेपछि राउत भावुक बन्छन् ।

बिरामी परेर थला परेका राउतलाई यो पटकको भत्ता नआउने हो कि भन्ने ठुलो चिन्ता थियो । तर ओछ्यानमै वडा अध्यक्ष कमल अधिकारी भत्ता बोकेर आएको देखेपछि राउत निकै भावुक र चिन्तित बने ।

वडा अध्यक्षको हात समात्दै भने, यो पटक भत्ता आउँदैन कि भन्ने चिन्ता थिए । भत्ता बुझ्न वडासम्म पुग्न सक्ने अवस्था थिएन ।हिजो यिनैहातले भोट दिएका जनप्रतिनिधि ओछ्यानमै भत्ता लिएर आउँदा निकै खुसी लागेको उनले सुनाए । वडा अध्यक्ष अधिकारीलाई आशीर्वाद दिँदै भने,तिमि जस्तै जनताको सेवा गर्ने जनप्रतिनिधि सबै जनताले पाउन ।

उनको उक्त कुराले वडा अध्यक्षलाई पनि भावुक बनायो।वडा अध्यक्ष र बैंक टोलीले बिस्तारै उनको औँला समातेर भत्ता काड र चेकमा औँठाछाप लगाएर उनलाई १२ हजार भत्ता दिए पछि राउत खुशी हुँदै भत्ता बुझ्छन् र भन्छन् आफू अब धेरै दिन बाच्दिन होला । यसैगरी सबै जनताको सेवा गर्नु भन्दै वडा अध्यक्षलाई धन्यवाद दिन्छन् ।

वैतेश्वर गाउँपालिकाले पछिल्लो ३ वर्ष देखि स्थानीय अशक्त,अपाङ्गता भएका तथा जेयष्ठ नागरिकहरूको सहजताको लागि वडाबाटै भत्ता वितरण गर्दै आएको छ।

गाउँपालिकाले बैंकसँग समन्वय गरेर वडाबाटै भत्ता उपलब्ध गराउँदै आएको छ।वडाले आइतबार देखि दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ।

वडामा आउन नसक्ने बिरामी तथा अशक्तलाई ओछ्यानमै भत्ता पुर्‍याउने गरेको वडा अध्यक्ष कमल अधिकारीले बताए ।