त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिस्टार र शिक्षाध्यक्षको कार्यकक्ष अगाडि विद्यार्थी संगठन अखिल क्रान्तिकारीले रिले अनशन सुरु गरेका छन् ।
आफ्नो माग पूरा नगरी प्रहरी प्रशासन लगाएर ताला खोलेको भन्दै माग पूरा नहुँदासम्म रिले अनशन जारी राख्ने अखिल क्रान्तिकारीका त्रिवि जिल्ला समितिका अध्यक्ष दिनेश ऐरले शिलापत्रसँग बताए । विद्यार्थीहरुले लगाएको ताला २५ दिनपछि विश्वविद्यालयले सोमबार प्रहरी प्रशासन लगाएर खोलेको थियो ।
त्रिविका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैङ्गिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन गरी चार केन्द्रीय विभागको शुल्क समायोजन गर्नुपर्ने विद्यार्थीहरूको माग छ ।
यही माग राखेर विद्यार्थीहरूले गएको असारमा पनि धर्ना र तालाबन्दी गरेका थिए । एक महिनाभन्दा लामो धर्ना र आन्दोलनपछि आन्दोलनरत विद्यार्थी र विश्वविद्यालयबीच चार विभागको शुल्क १ लाख १० हजार निर्धारण गर्ने गरी सहमति भएको थियो ।
तर, पूर्व सहमति नभएको भन्दै विद्यार्थीहरूले फेरि गएको १८ पुसमा उपकुलपति, रजिस्टार र शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका थिए । आफ्नो माग सम्बोधनका विषयमा कुनै छलफल र निर्णय नगरी ताला खोलेको भन्दै उनीहरूले सोमबार साँझ मसाल जुलुस निकालेका थिए ।
मंगलबारदेखि भने माग पूरा नहुँदासम्म उपकुलपति, रजिस्टार र शिक्षाध्यक्षको कार्यकक्ष अगाडि रिले अनशन बस्ने अध्यक्ष ऐरले बताए ।








