काठमाडौं । लगानी बोर्डमा प्रस्तावित भई आएका सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलका सबै परियोजना अघि बढाउन अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष रामेश्वर खनालले निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा भएको सार्वजनिक तथा निजी साझेदारी तथा लगानी ऐेन २०७५ अनुसारको अनुगमन तथा सहजीकरण समितिको १२औँ बैठकमा अर्थमन्त्री खनालले काम गर्न सकिने जति परियोजनालाई अघि बढाउन निर्देशन दिएका हुन् ।

बैठकले वन, जग्गा, मूल्य समायोजन, प्रसारण लाइन, मुआब्जा, स्थानीय तहसँगको समन्वयलगायत विषयमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायमा आवश्यक सहजीकरणको सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले लगानी बोर्डमा प्राप्त परियोजनाका प्रस्ताव र नीति तयारीका विषयमा जानकारी गराए ।

ज्ञवालीका अनुसार बोर्डमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रासायनिक मल कारखाना, जलाशययुक्त जलविद्युत् परियोजना, एग्रो भोल्टेक परियोजना, ग्रीन हाइड्रोजन, पोडवेलगायत प्रस्ताव प्राप्त भएका छन् ।

त्यसैगरी, बोर्डका सहसचिव हेमराज तामाङले लगानी बोर्डबाट हालसम्म १७ खर्ब १६ अर्ब रुपैयाँबराबरका ५५ वटा परियोजना स्वीकृत भएको जानकारी गराए ।