काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा ‘आरबीबी फोन लोन’ नामक नयाँ डिजिटल कर्जा सेवा सुरु गरेको छ । यो सेवा बैंकको ‘आरबीबी डिजिटल संसार’ मोबाइल बैंकिङ माध्यमबाट उपलब्ध गराइएको हो ।
उक्त डिजिटल कर्जा सेवा एफ वन सफ्ट समूहअन्तर्गतको फोन लोन प्रा.लि.ले प्रदान गरेको हो । यस सेवाले कागजी झन्झटबिना, छिटो र सहज रूपमा ऋण उपलब्ध गराउने बैंकले जनाएको छ ।
यस सेवामार्फत बैंकमा तलब बचत खाता रहेका योग्य ग्राहकले हाललाई एक लाख रुपैयाँसम्मको ऋण कुनै धितो नराखी, बैंक शाखा नधाई सिधै मोबाइल बैंकिङ माध्यमबाट तुरुन्तै प्राप्त गर्न सक्नेछन् । औपचारिक ऋण सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको बैंकको भनाइ छ ।
ऋणको सीमा र योग्यता बैंकले तोकेको मापदण्डका आधारमा निर्धारण गरिनेछ । यसमा तलब जम्मा हुने नियमितता, हालसालैका ऋण दायित्व तथा ऋण चुक्ता गर्ने व्यवहारलाई आधार बनाइनेछ । ग्राहकले एक महिनाभित्र वा १२ महिनासम्म किस्ताबन्दी रूपमा ऋण चुक्ता गर्ने विकल्प रोज्न सक्नेछन् । आवश्यक परेमा समयअघि नै ऋण चुक्ता गर्ने सुविधा पनि उपलब्ध छ ।
मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकले ‘आरबीबी डिजिटल संसार’ माध्यमबाट प्रमाणित विद्युतीय पत्राचार ठेगाना उपलब्ध गराई सेवा दर्ता गर्न सक्नेछन् । योग्य ग्राहकले सोही माध्यमको मुख्य पृष्ठबाटै ऋणका लागि आवेदन दिन सक्ने र स्वीकृति पश्चात सेवा उपभोग गर्न सक्ने व्यवस्था गरिएको छ ।
‘आरबीबी फोन ऋण’ सेवाको सुरुआतसँगै राष्ट्रिय वाणिज्य बैंकको डिजिटल बैंकिङ रूपान्तरण यात्रा थप सुदृढ हुने विश्वास बैंकले लिएको छ ।








