काठमाडौँ । युट्युबले आफ्नो प्लेटफर्मबाट केही अत्यधिक लोकप्रिय एआई स्लोप (एआईद्वारा निर्मित निम्न गुणस्तरका सामग्री) च्यानलहरू हटाएको देखिएको छ । कपविङको रिपोर्ट अनुसार ५९ लाखभन्दा बढी सब्सक्राइबर र कुल १.२ अर्बभन्दा बढी भ्युज बटुलेको क्युएन्टोस फासियानान्टेस (CuentosFacianantes) नामक चर्चित च्यानल अहिले प्लेटफर्ममा उपलब्ध छैन ।

कपविङको नोभेम्बर २०२५ को रिपोर्टले उक्त च्यानललाई सबैभन्दा बढी सब्सक्राइबर भएको एआई स्लोप च्यानलको रूपमा पहिचान गरेको थियो, जसले निम्न गुणस्तरका ड्रागन बल (Dragon Ball) थिमका भिडिओ उत्पादन गर्ने गर्दथ्यो । सोही सूचीमा दोस्रो नम्बरमा रहेको इम्पेरियो डे जिसस (Imperio de Jesus) नामक च्यानल पनि अहिले युट्युबमा भेटिँदैन ।

यस च्यानलका ५८ लाखभन्दा बढी सब्सक्राइबर थिए र च्यानलको अनुवादित विवरण अनुसार यसले रमाइलो अन्तरक्रियात्मक क्विजहरू मार्फत येशुप्रतिको विश्वासलाई बलियो बनाउने काम गर्दथ्यो ।

यो कारबाही युट्युबका सीईओ नील मोहनले प्लेटफर्ममा एआई स्लोपको व्यापकताका बारेमा सम्बोधन गरेको केही हप्तापछि नै देखिएको हो । मोहनले प्रयोगकर्ताहरूलाई लेखेको एक पत्रमा कम्पनीले स्पाम र क्लिकबेट विरुद्ध लड्न प्रयोग गरिने आफ्नो विद्यमान प्रणालीलाई अझ बलियो बनाउँदै निम्न गुणस्तरका एआई सामग्रीको प्रसारलाई कम गर्ने योजना बनाएको उल्लेख गरेका थिए ।

कपविङको रिपोर्टमा उल्लेख गरिएका अन्य १६ वटा एआई च्यानलहरू पनि कि त मेटिएका छन् वा तिनका सबै भिडिओ युट्युबबाट गायब पारिएका छन् । यसरी प्रभावित हुने च्यानलहरूमा हिरोज डे फेन्टासिया (Héroes de Fantasía), अधमाली-० (Adhamali-0), र रोउपा २५ (Roupa25) रहेका छन् । अर्को एक च्यानल सुपर क्याट लिग (Super Cat League) युट्युबमा अझै देखिए पनि त्यहाँ कुनै पनि भिडिओ उपलब्ध छैनन् ।

च्यानलको विवरण अनुसार यसले आफूलाई विश्वको नम्बर १ एआई क्याट सिनेमा भनी चिनाएको थियो । यसले अत्याधुनिक एआईको प्रयोग गरी बिरालाहरूको गरिबदेखि धनीसम्म बन्ने भावुक गाथा र काल्पनिक साहसिक कथाहरू सिर्जना गर्ने दाबी गर्दथ्यो । कपविङका अनुसार यी च्यानलहरूका कुल सब्सक्राइबर सङ्ख्या २० लाखभन्दा बढी थियो ।

युट्युबले यी च्यानलहरू आफैले हटाएको हो वा अन्य कुनै कारणले हटेका हुन् र यो कहिले भयो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । द भर्जका अनुसार, यसबारे थप जानकारी माग्दा युट्युबबाट तत्काल कुनै प्रतिक्रिया प्राप्त हुन सकेन ।

यसअघि पनि युट्युबले अप्रामाणिक सामग्रीहरू विरुद्ध कारबाही गर्ने योजना घोषणा गरेको थियो र नक्कली एआई-जेनेरेटेड मुभी ट्रेलर बनाउने दुईवटा च्यानलहरू हटाएको थियो । नेपालमा पनि पछिल्लो समय नयाँ तथा पुराना लोकप्रिय गीतहरूको एआई भर्सन बनाएर युट्युबमा राख्ने प्रवृत्ति ह्वात्तै बढेको छ । तर ती च्यानलहरू भने यथावत् रूपमा चलिरहेकै छन् । जसले लाखौँमा भ्युज बटुलिरहेका छन् ।

एआई-जेनेरेटेड सामग्रीमाथि यस्तो कडाइ गरिरहँदा पनि कम्पनीले क्रिएटरहरूलाई युट्युब शर्ट्समा एआई क्लिपहरू प्रयोग गर्न र भविष्यमा आफ्नै एआई अवतार (AI likenesses) सिर्जना गर्न भने अझै प्रोत्साहित गरिरहेकै छ ।