काठमाडौँ । तनहुँ र चितवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका भरतपुर महानगरपालिका–१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका–३ का २७ वर्षीय पुरन मगर घाइते भएका छन् । उनको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ । उनीहरू पोखराबाट दमौली आइरहेका थिए ।
यता, चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा बुधबार राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो । गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।








