काठमाडौं । भारी हिमपातका कारण अवरुद्ध बनेको कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ। जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा कालीगण्डकी करिडोर सडक आयोजनाको डोजर परिचालन गरी हिउँ पन्छाउने काम सुरु भएको हो।
वारागुङ मुक्तिक्षेत्र–४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङको उपस्थितिमा सडकको हिउँ सफा गर्ने काम अघि बढेको छ। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार मुक्तिनाथ जाने दर्शनार्थीहरूको समस्यालाई मध्यनजर गर्दै बाक्लो हिउँ पन्छाउन डोजर पठाइएको हो। यो सडक गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयअन्तर्गत पर्ने भए पनि मानवीय समस्यालाई हेरेर कोरला सडक आयोजनाले सहयोग गरेको उनले बताए।
मङ्गलबारको हिमपातले कागबेनीको पहिलो मोडदेखि रानीपौवा बसपार्कसम्म बाक्लो हिउँ जमेको छ। हिउँ पन्छाउने काम सुरु भइसकेकाले साँझसम्म यातायात सहज हुने वडाध्यक्ष गुरुङले आशा व्यक्त गरे। यसअघि बुधबार बिहान सशस्त्र प्रहरीको टोली हिउँ पन्छाउन खटिए पनि निरन्तरको हिमपातले गर्दा काम रोक्नुपरेको थियो। आज सुरक्षाकर्मीको जनशक्तिले मात्र हिउँ हटाउन समय लाग्ने देखिएपछि डोजर प्रयोग गरिएको वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए।
सडक अवरुद्ध हुँदा सयौँ दर्शनार्थीहरू बुधबारदेखि नै कागबेनीमा अलपत्र परेका छन्। कतिपय भक्तजनहरू हिउँकै बीच घोडा चढेर मुक्तिनाथ पुगेका छन्। हिमपातका कारण रानीपौवा क्षेत्र र मुक्तिनाथ मन्दिर अहिले सुनसान छ। दर्शनार्थी पुग्न नसकेपछि मन्दिरको गतिविधि नियमित पूजापाठमै सीमित भएको छ।








