भक्तपुरको कमलविनायक बसपार्क नजिक टिप्पर, स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार, कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर लडेको थियो। लडेको मोटरसाइकलमा पछाडीबाट आइरहेको बागमती प्रदेश ०२-०२० प. ११६८ नम्बरको स्कुटरसँग ठोक्किएको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) सूर्यबहादुर खड्काले बताए।

सडकमै लडेका मोटरसाइकल र स्कूटरलाई पछाडीबाट आएको बागमती प्रदेश ३-०१-००३ क. ६२९१ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको एसपी खड्काले बताए।

दुर्घटनामा दुर्घटनामा स्कुटर चालक भक्तपुर नगरपालिका-८ का २६ वर्षीय विमल वनमाला गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भक्तपुर अस्पतालमा लगिएको थियो। विमलको उपचारकै क्रममा मृत्यु भएको एसपी खड्काले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-७ इनाचोकका २४ वर्षीय राजेश वनमाला घाइते भएका छन्। राजेशको ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको उनले बताए।

दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा परेका तीन वटै सवारी साधनन प्रहरी वृत्त जगातीमा राखिएको छ।