राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव चुनावी अभियानमा सक्रिय भएपछि पार्टी प्रवेश गर्ने क्रमले तीब्रता पाएको छ ।

प्रतिनिधिसभा सदस्यमा सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका उनलाई स्वागतसँगै विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गर्ने लहर चलेको हो । राजगढ गाउँपालिका वडा नम्बर ६ हिजो मा नेकपा एमाले परित्याग गरी मजिद मियाँ (कैलास) र नइम मन्सुरीको नेतृत्वमा कार्यकर्ताहरु प्रवेश गरेका छन् । उनीहरु त्यस क्षेत्रका प्रभाशाली नेता हुन् ।

सोही वडामा नेपाली कांग्रेस परित्याग गरी बद्री यादव, कुञ्जीलाल यादव, दिनेश यादव, बब्लु यादवलगायत दर्जनौँ स्थानीय नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका छन् । यस्तै जनमत पार्टी परित्याग गरी सरोजकुमार यादव, सुनिल कुमार शर्मा, कमल शर्मा, बिरेन्द्र शर्मा, बलराम सुतिहार, शत्रुधन सुतिहार, कृष्णा यादव, सुरेन्द्र कुमार यादव सहितका कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका छन् ।

राजगढ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका कामेश्वर यादवको नेतृत्वमा सामूहिक रुपमा जसपा नेपालमा प्रवेश गरेका छन् । यस्तै बिष्णुपुर गाउँपालिका वडा नम्बर ४ का दिनेश झा, सुरेश झा, छोटेलाल खंग सहितका व्यक्तिहरु पार्टी प्रवेश गरेका छन् ।

पार्टीको घोषणापत्र सार्वजनिक गरे लगत्तै निर्वाचन क्षेत्रमा सक्रिय भएका अध्यक्ष यादव आज डाक्नेश्वरी नगरपालिकाको विभिन्न वडाहरुमा भेंटघाट तथा छलफल कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

वडा नम्बर ४ कुशहामा नेकपा माओवादीका केन्द्रीय सदस्य अच्छेलाल साह, स्थानीय नेता बच्चेलाल साहको नेतृत्वमा कार्यकर्ताहरु समेत पार्टी प्रवेश गरेको जनता समाजवादी पार्टी नेपालका नेता बिदेश्वर प्रसाद यादव बिक्कीले जानकारी दिएका छन् ।

उनका अनुसार कुशहामा नेपाली कांग्रेसका रामरतन राय, सञ्जय राय, जनमत पार्टीका रामसुन्दर राय सहितका नेताहरु पार्टी प्रवेश गरेका छन्। नवप्रवेशीहरुलाई पार्टी अध्यक्ष यादवले स्वागत गर्दै पार्टी नीति तथा सिद्धान्तलाई आत्मसात गर्दै अभियानमा होमिन आग्रह गरेका छन् ।

पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहका अनुसार अध्यक्ष यादव पुग्ने हरेक गाउँ तथा टोलहरुमा सर्वसाधारण जनता उत्साहित भएको तथा पार्टी प्रवेश गर्ने क्रम पनि बढेको छ ।

मधेश विद्रोहका कमाण्डर यादवलाई आफ्नै घरदैलौमा प्रत्यक्ष भेट्ने अवसर पाएपछि सर्वसाधारण उत्साहित भई जनलहर बढेको छ । जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएपछि केही दिनयता जनताको घरदैलोमा सक्रिय भएका छन् ।

कठोर सङ्घर्ष र जनताको बलिदानीबाट प्राप्त उपलब्धीको रुपमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल एवम् स्थायित्व प्रदान गर्नु आवश्यक रहेको बताउँदै जसपा नेपाललाई मतदान गरेर थप सबल बनाउन अध्यक्ष यादवले आह्वान गरेका छन् ।