अछाम — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार अछामका मंगलसेन, कमलबजार र विनायकमा घण्टी बजाउँदै सुदूरपश्चिम भ्रमण सकेका छन् ।
शुक्रबार दिउँसो अछामको विनायकमा घण्टी बजाएसँगै उनले सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा पुग्ने अभियान पूरा गरेका हुन् ।
सुदूरपश्चिम भ्रमणको पहिलो दिन शाहले कैलालीका पाँच र कञ्चनपुरका तीन गरी आठ निर्वाचन क्षेत्र पुगेका थिए । दोस्रो दिन उनी डडेलधुरा, बैतडी र दार्चुला पुगेपछि सोही राति बझाङ गएका थिए । तेस्रो दिन बझाङबाट बाजुरा हुँदै अछाम–१ को साँफेबगर पुगेका शाह त्यसपछि डोटी पुगेका थिए । चौथो दिन भने उनले अछाम–२ का विभिन्न स्थानमा समय बिताए ।
अछाम–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनका स्वकीय सचिव भूपदेव शाहको निर्वाचन क्षेत्रमा पर्ने मंगलसेन, कमलबजार र विनायकमा शाहले पाँच–पाँच मिनेट मात्रै समय दिएका छन् । शाहले कुनै स्थानमा सार्वजनिक सम्बोधन नगरी पार्टी कार्यालयमा घण्टी बजाउने र गाडीबाटै समर्थकलाई हात हल्लाएर अभिवादन गर्दै अर्को गन्तव्यतर्फ लाग्ने शैली अपनाएका छन् ।
भाषण नगर्ने, कसैसँग दोहोरो संवाद नगर्ने र प्रत्येक निर्वाचन क्षेत्रमा छोटो समय मात्रै बिताउने गरेका छन् । यसअघि पनि उनले एक निर्वाचन क्षेत्रमा औसतमा १० देखि १५ मिनेट मात्रै समय दिने गरेका थिए ।
कमलबजारमा शाह पुग्ने खबरपछि समर्थकहरूले स्वागतको तयारी गरेका थिए । तर उनले त्यहाँ कुनै सम्बोधन नगरी घण्टी मात्रै बजाएर फर्किएपछि केही स्थानीय र समर्थकले सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।
तर शाहनिकटहरुका अनुसार उनको अभियान रणनीति नै भाषणभन्दा प्रतीकात्मक उपस्थितिमा आधारित छ । घण्टी बजाउने, मौन बस्ने र छोटो समयमै स्थान परिवर्तन गर्ने शैलीमार्फत उनले परम्परागत राजनीतिक संस्कृतिमाथि प्रश्न उठाउन खोजेको उनका समर्थकहरुको तर्क छ ।








