बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले पाल्पाली जनताबाट प्राप्त सद्भाव र स्नेहले आफूलाई ऊर्जावान बनाएको बताएका छन् ।

नेकपाबाट पाल्पा निर्वाचन क्षेत्र नम्बर २ का उमेदवार सोमप्रसाद पाण्डेले बुटवलमा पत्रकारहरूसँगको कुराकानीमा पाल्पाका मतदाता चेतनशील रहेको बताए ।

तानसेनलाई ऐतिहासिक सहरको रूपमा विकास गर्न ७७ बुँदे अवधारणा पेस गरेको बताउँदै उनले पाल्पालाई पर्यटकीय जिल्लाको रूपमा अझ सशक्त बनाउने योजना सुनाए ।

तानसेनलाई हिल स्टेसनका रूपमा विकास गर्ने योजना सुनाउँदै उनले लुम्बिनी आउने पर्यटक आकर्षित गर्न सकिने बताए । कृषिलाई आधार मानेर पर्यटन, खानी, शैक्षिक हबलगायत क्षेत्रको विकास गर्दै ‘समृद्ध पाल्पा’ निर्माण गर्ने योजना रहेको उनले बताए ।