काठमाडौँ । धनगढीका एक युवकले छिमेकी महिलासँग भएको निजी तथा नग्न भिडिओ कल रेकर्ड गरी सामाजिक सञ्जाल फेसबुकमा पुनः सार्वजनिक गरिदिएका छन् । साइबर अपराधको मुद्दा दायर गरी सजाय समेत तोकिएका युवक उल्टै प्रतिशोधमा उत्रिएका हुन् ।
जाहेरीअनुसार धनगढी-१८ का ३४ वर्षीय सुरेशकुमार शर्मा र पीडित महिला एकै गाउँका स्थानीय हुन् । छिमेकीकै नाता सम्बन्धले दुवै जनाबिच सामान्य अडियो-भिडिओ कल हुने गरेको थियो । तर विस्तारै उनीहरू भिडिओ कलमा नग्न अवस्थामा समेत एकअर्कासँग प्रस्तुत हुने गरेका थिए । सोही क्रममा भिडिओ कलको स्क्रिनशट तथा रेकर्ड गरेका शर्माले दुवै जनाबिच विवाद उत्पन्न भएपछि फेसबुकमा पोस्ट गरिदिएका थिए ।
यो प्रकरण अदालतसम्म पुग्यो । फैसला नहुँदै शर्मा धरौटीमा रिहा भए । त्यसपछि गत १२ भदौ २०८२ मा कैलाली जिल्ला अदालतले शर्मालाई १ वर्ष ३ महिना कैद तथा ३० हजार रुपैयाँ जरिबाना र पीडितलाई एक लाख रुपैयाँ क्षतिपुर्ति दिनुपर्ने फैसला सुनाएको थियो । तर उनी भारतमा रहेकाले सो सजाय भुक्तान भने गर्न बाँकी नै थियो ।
आफूमाथि मुद्दा दायर गरी सजाय भएको प्रति आक्रोशित उनले आफू भारतमा रहेकै बेला पुनः छिमेकी तथा पीडित महिलाका नग्न फोटो तथा भिडिओ आफ्नै फेसबुक अकाउन्टबाट पुनः पोस्ट गरिदिए । यतिखेर प्रहरीले उनलाई पक्राउ गरी पुनः साइबर अपराधको मुद्दामा कारबाही अगाडि बढाएको छ ।
शर्माले पटक पटक कसुर गरेकाले अघिल्लो पटक भएको सजायमा डेढी सजाय माग दाबी जिल्ला सरकारी वकिलको कार्यालयले लिएको छ । यसको अर्थ उनलाई यसअघि बाँकी रहेको सजायसहित कूल ३७.५ महिना जेल, ७५ हजार रुपैयाँ जरिबाना र २ लाख ५० हजार रुपैयाँ क्षति पूर्तीको सजाय हुन सक्छ ।
पछिल्लो पटक १५ माघमा अभियोगपत्र दायर भएकाले हाल यो मुद्दा कैलाली जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।








