काठमाडौँ — नयाँ बसपार्कबाट खाली सिलिन्डर बोकेर बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासको कार्यालयमा पुगेका थिए नमराज घिमिरे । आफूले सधैँ ग्यास ल्याउने ठाउँमा ग्यास नपाएपछि उनी कार्यालयसम्मै धाउन बाध्य भएका हुन् । किनकि पछिल्लो दुई सातायता उपत्यकामा उपभोक्ताहरू ग्यास अभावको सामना गरिरहेका छन् । धेरैले नेपाल ग्यास नपाइएको हैरानी बेहोरिरहेका छन् ।
घिमिरेले घरमा ग्यास खाँचो भइसक्दा पनि डिपोबाट नपाउँदा कम्पनी धाउनुपरेको दुःखेसो सुनाए । एक साताभन्दा धेरै समय कुर्दा पनि डिपोबाट ग्यास नपाएका उनले भने, ‘डिपोले कम्पनीमै जानु, त्यहाँ ग्यास बाँडेको छ भन्यो । पालो नपाएपछि कार्यालयमै आएको हो । हिजोअस्ती कम्पनीले ग्यास बाँडेको छ भनेर आएको, आज बाँडेको रहेनछ, बिचल्ली हुने भयो ।’
नेपाल ग्यासको कार्यालयमा ग्यास लिन टाढाटाढाबाट आउनेहरूमा घिमिरे एक्ला थिएनन् । रौतहट घर भई हाल चाबहिल बस्ने प्रेम साह पनि त्यहीँ भेटिए । उनले डेरामा ग्यास सकिएको र समयमै नपाएको हैरानी सुनाए । भने, ‘ग्यास सकिएको छ । दाउरामा पकाएर खानुपरेको छ । एक घण्टादेखि ग्यास लिन नेपाल ग्यासको कम्पनीकै कार्यालयमा आएको, अहिलेसम्म पाएको छैन । तीन दिन भइसक्यो ग्यास खोजिरहेको, नेपाल ग्यास कहीँ पाइएन । एउटा मात्रै सिलिन्डर थियो । आज त ग्यास लिन खान नखाई आएको हो ।’
धादिङ मूल घर भई नेर्पालटार बस्दै आएका अर्जुन सिम्खडा पनि त्यहीँ भेटिए । उनले पनि आफ्नो वरिपरि कतै नेपाल ग्यास साट्न नपाएको बताए । उनले भने, ‘म बस्ने एरियामा ग्यास पाइएको छैन । डिपोले बालाजु औद्योगिक क्षेत्रमा पठायो । कम्पनीकै कार्यालयमा आएर पनि ग्यास पाउन सकिएको छैन । आज बेलुकासम्म पनि पालो आउने हो कि होइन, पत्तो छैन ।’
नेपाल ग्यासका कार्यकारी सञ्चालक तथा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्वअध्यक्षसमेत रहेका गोकुल भण्डारीले नेपाल ग्यासको माग दैनिक ८–१० बुलेट रहने गरेको बताए । उनले त्यो मात्रामा ढुवानीमा केही समस्या रहँदा अभाव देखिएको बताउँदै अहिले समस्या हल भए पनि बजारको चक्र केही गडबड भएकाले पुरानै अवस्थामा आउन केही दिन लाग्ने बताए । उनले भने, ‘लोडिङ गर्ने कुरामा हाम्रा आफ्ना बुलेट नभएका कारण समस्या आएको हो । उद्योगको कारणले मात्रै ग्यास अभाव भएको होइन ।’
सञ्चालक भण्डारीले नेपाल ग्यास दैनिक ८ हजार सिलिन्डर खपत हुने गरेको र जाडो महिनामा यो संख्या अझै बढ्ने बताए । उनले पछिल्ला दिनमा जति माग हो त्योभन्दा बढी नै ग्यास बजारमा रहेको दाबी गर्दै आत्तिनुपर्ने स्थिति नरहेको र ग्यास वितरण सुचारु भइसकेको बताए ।
नेपाल आयल निगमले नेपाल ग्याससहित केही अन्य ग्यासको बजारमा चरम अभावबारे जानकार रहेको बताएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले छिटो अभाव हटाउन उद्योगीलाई निर्देशन दिइएको दाबी सुनाए ।
प्रवक्ता ठाकुरले भने, ‘नेपाल ग्याससहित केहीमा समस्या देखापरेको छ । उनीहरूले भारतबाट समयमै ढुवानी गर्न नसकेको पाइयो । ग्यास ढुवानी गर्ने आफ्नै ढुवानीकर्ता छैनन्, जतिपनि छन् भारतीय नै छन् । तिनैमाथि हामी निर्भर भएका छौँ । समयमै ढुवानीकर्ता भएनन् भने हामीलाई समस्या हुने गरेको छ, अहिले त्यस्तै समस्या आएको हो । अहिले उद्योगीलाई बोलाएर अभाव हटाउन र इन्डियन आयल कर्पोरेसनसँग पनि निगमले कुराकानी गरिरहेको छ ।’








