काठमाडौं । आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै झुक्याएर लामो समयसम्म सम्पर्कविहीन भएको भन्दै पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार पक्राउ पर्नेहरूमा धादिङ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने २४ वर्षीय अन्जन भुजेल र सल्यान घर भई काठमाडौं-२६ बस्ने ३१ वर्षीय नवीन दमाई छन् । भुजेलले न्युजील्यान्ड पठाइदिने भन्दै पाँचजना पीडितबाट १७ लाख १० हजार र दमाईले ग्रीस पठाइदिने भन्दै दुईजना पीडितबाट दुई लाख ६० हजार लिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ ।