काठमाडौं । सन् २०२५ मा ब्राजिलको औद्योगिक उत्पादन मात्र ०.६ प्रतिशतले वृद्धि भएको छ । यो जानकारी साओ पाउलो राज्यको उद्योग महासंघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दक्षिण अमेरिकाको सबैभन्दा ठूलो उद्योग संगठनका अनुसार अमेरिकी भन्सार कर र वार्षिक १५ प्रतिशतको उच्च आधार ब्याजदरका कारण ब्राजिलको उद्योग क्षेत्र निरन्तर दबाबमा परेको छ ।

महासंघले सरकारद्वारा लागू गरिएको कडा मौद्रिक नीति र बाह्य व्यापारिक दबाबले उद्योग क्षेत्रमा दोहोरो असर पारेको चेतावनी दिएको छ । यी कारणले उत्पादन सीमित हुनुका साथै निर्यात गतिविधिसमेत कमजोर बनेको जनाइएको छ ।

मंगलबार सार्वजनिक तथ्यांकअनुसार सन् २०२५ को दोस्रो ६ महिनाको अवधिमा अमेरिकातर्फको निर्यात ८.६ प्रतिशतले घटेको छ ।

यस्ता चुनौती समाधान गर्न उद्योग महासंघले श्रमिक वर्गका लागि आयकर छुट, आवास कार्यक्रमको विस्तार तथा निजी क्षेत्रका लागि कर्जा प्रवाह तीव्र बनाउने उपायहरू प्रस्ताव गरेको छ ।

महासंघले सन् २०२६ मा ब्राजिलको औद्योगिक क्षेत्र केवल ०.६ प्रतिशतले मात्र विस्तार हुने अनुमान गर्दै आगामी वर्ष पनि गम्भीर आर्थिक चुनौतीहरू कायम रहने जनाएको छ ।