बर्दिया — उनीहरूको माग गाँस, बास र कपास होइन । न त रोजगारी नै माग गरिरहेका छन् । बर्दिया–२ अन्तर्गत राजापुर नगरपालिका–१ मा बसोबास रहेका सोनाहा समुदाय प्रत्येक निर्वाचनमा भोट माग्न आउने उम्मेदवारसित आफूहरूलाई जनजातिमा सूचीकृत गर्न माग राख्छन् ।
जति माग गरे पनि पूरा नभएपछि अल्पसंख्यक सोनाहा समुदाय अहिले निराश छन् । निर्वाचनका बेला उम्मेदवारले गर्ने वाचाप्रति उनीहरूको विश्वास टुटिसकेको छ । निर्वाचनका बेला सोनाहा जातिका माग सम्बोधन गर्ने झूटो आश्वासन दिने गरेको सोनाहा विकास समाजका अगुवा बलबहादुर सोनाहाले दुखेसो पोखे । वर्षौंदेखि आफूहरूलाई जनजातिमा सूचीकृत गर्न यस समुदायले दबाब दिए पनि कसैले पहल नगरेको बलबहादुरले बताए । ‘अहिले चुनावका समय फेरि आश्वासन बाँड्ने क्रम सुरु भएको छ,’ उनले भने ।
पुर्ख्यौली पेसा संकटमा परेका उनीहरूले यसपालि पनि जनजातिमा सूचीकृत गर्नेलाई भोट दिने बताएका छन् । सरकारले सूचीकृत नगरेका कारण राज्यबाट पाउने सुविधाबाट वञ्चित भएको उनीहरूले बताए । समुदायका अगुवा शान्ति सोनाहाले हरेक चुनावमा उम्मेदवारले यो मुद्दा समाधान गर्ने वाचा गरे पनि निर्वाचित भएपछि फर्केर बस्तीमा नआउने बताए । ‘अब त उम्मेदवारले गर्ने वाचाको पनि विश्वास लाग्नै छोड्यो,’ उनले भने ।
कर्णाली नदी तटमा बसोबास भएका सोनाहा जातिको मुख्य पेसा माछा मार्ने, डुंगा चलाउने र नदीबाट सुन बटुल्ने हो । मुलुकमा सशस्त्र द्वन्द्वका समयमा राज्य र विद्रोही पक्षबाट प्रताडित सोनाहा जातिका अधिकांश पुरुष भारत पलायन भएका थिए । अहिले यहाँका पुरुष कामको खोजीमा काठमाडौं लगायत भारतीय सहरमा पुगेका छन् ।
यसपटक राज्यले सोनाहालाई अन्यको सूचीबाट हटाएर आदिवासीमा समेट्नु पर्ने, मुक्त कमैया सरह सुविधा दिनुपर्ने र निकुञ्ज क्षेत्रमा माछा मार्न दिनुपर्ने माग रहेका छन् । यी माग पूरा गर्ने लिखित वाचा गरेमात्रै भोट दिने शान्ति सोनाहाले बताए । ‘आदिबासीमा सूचीकृत मात्रै नभई रोजगारीको व्यवस्था, निःशुल्क शिक्षा र स्वास्थ्यको पनि व्यवस्था गर्नु पर्यो,’ उनले भने, ‘बडघरिया प्रथालाई राज्यले मान्यता दिनु पर्यो ।’
यस जातिको इतिहास स्थानीय समुदायलाई धेरै जानकारी छैन । स्थानीयका अनुसार यिनीहरू दैलेखको राकमबाट बसाइँ सरेर बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा आएका हुन् । उनीहरूले बोल्ने भाषा खाम हो । नाग पञ्चमीलाई गुडिया पर्वका रूपमा मनाउने प्रचलन रहेको छ । बर्दिया, कैलाली र कञ्चनपुरमा सोनाहा जातिको १ हजार २ सय जनसंख्या रहेको छ । बर्दियामा ७ सय २९ जना रहेका छन् ।








