काठमाडौं । युरोपेली आयोगले रुसले आफ्ना उपग्रह तथा युरोपेली संघका अन्य अन्तरिक्ष संरचनामाथि आक्रमण गरेको जनाएको छ । यसबारे आफू पूर्णरूपमा जानकार रहेको र ती आक्रमणहरू पत्ता लगाउने तथा प्रतिरक्षा गर्ने क्षमता युरोपेली संघसँग रहेको आयोगले स्पष्ट पारेको छ ।
युरोपेली आयोगका प्रवक्ता थोमस रेग्नियरले ४ जनवरीमा ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् । “रुसले वर्षौं वा दशकौंदेखि नै युरोपेली अन्तरिक्ष संरचना तथा उपग्रहहरूलाई निशाना बनाउँदै आएको छ । हामी यो समस्याबारे पूर्णरूपमा जानकार छौँ,” रेग्नियरले भने ।
युरोपेली आयोगका प्रवक्ता थोमस रेग्नियरले सम्भावित आक्रमणबाट अन्तरिक्ष संरचनाहरूको संरक्षणका लागि युरोपेली संघसँग विभिन्न प्रतिरक्षा उपकरणहरू रहेको बताए ।
“पहिलो, हामीसँग ग्यालिलियो प्रणाली छ, जसले यस्ता आक्रमणहरू पत्ता लगाउन र रोक्न सक्छ । साथै, हाम्रो रक्षा रोडम्यापमा प्रस्ताव गरिएका चार युरोपेली फ्ल्यागसिप परियोजनामार्फत हामी अझ एक कदमअगाडि बढेका छौँ,” उनले भने ।
रेग्नियरका अनुसार, युरोपेली संघले आफ्ना सदस्य राष्ट्रहरूसँग मिलेर उपग्रहहरू र अन्य अन्तरिक्ष सम्पदाको संरक्षणका लागि विशेष रूपमा ‘युरोपेली स्पेस शिल्ड’ परियोजना कार्यान्वयन गरिरहेको छ ।
“हामीलाई के थाहा छ भने रुसले यस्ता गतिविधि गरिरहेको छ, र आवश्यक परे प्रतिकार गर्न हामी तयार छौँ,” उनले जोड दिए ।
फाइनान्सियल टाइम्सले रुसी अन्तरिक्षयानहरूले कम्तीमा १० वटा प्रमुख युरोपेली उपग्रहहरूबाट सञ्चार अवरुद्ध गरेको जनाएको छ । यसले युरोपेली राष्ट्रहरूको संवेदनशील जानकारी जोखिममा पारेको रिपोर्ट गरेको छ । गतहप्ता युरोपेली संघका रक्षा तथा अन्तरिक्ष आयुक्त एन्ड्रियस कुभिलियसले २७ सदस्य राष्ट्रहरूको विद्यमान उपग्रह सञ्चार क्षमताहरूलाई एकीकृत गर्ने ‘गोभ्साटकम’ कार्यक्रम सुरु गरिएको घोषणा गरेका थिए ।
अमेरिकी प्रतिबद्धताप्रति बढ्दो शंकाको परिस्थितिमा युरोपेली संघले २०३० सम्ममा सैन्य गुप्तचर उद्देश्यका लागि संरक्षित उपग्रह सञ्चार प्रणाली स्थापना गर्ने तयारी गरिरहेको छ । युरोपेली संघले २०३० सम्ममा अमेरिकाबाट स्वतन्त्र सैन्य डाटा साझेदारी प्लेटफर्म निर्माण गर्ने योजना पनि बनाएको छ ।
रुसी उपग्रहहरूविरुद्ध रक्षा गर्न ‘स्पेस सिल्ड’ सुरु
फेब्रुअरी ४ मा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लेयेनले स्पेस सिल्डलाई कक्षामा युरोपको उपस्थितिको संरक्षण गर्ने सुरक्षा प्रणालीका रूपमा चित्रण गरिन् । युरोपेली अन्तरिक्ष संरचनामाथि रुसी गतिविधिमा तीव्र वृद्धि भएको उल्लेख गर्दै उनले भनिन्, “हाम्रा उपग्रहहरूमाथि बढ्दो आक्रमणहरूको जवाफस्वरूप हामी स्पेस सिल्ड सुरु गर्दैछौँ ।”
यो पहल नेभिगेसन, सञ्चार, निगरानी तथा प्रारम्भिक चेतावनी प्रणालीका लागि प्रयोग हुने नागरिक तथा सैन्य उपग्रहहरूको कमजोरीप्रति बढ्दो चिन्ताबाट उत्पन्न भएको हो । भन डर लेयेनका अनुसार, स्पेस सिल्डमा साइबर तथा भौतिक सुरक्षा तहहरू समावेश हुनेछन् । र, यो नेटो तथा युरोपेली संघअन्तर्गत सञ्चालित निजी अन्तरिक्ष कम्पनीहरूसँग सहकार्यमा विकसित गरिनेछ ।








