बागलुङ — २० वर्षअघि नेपालको ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनको सभापति बनेर विद्यार्थीको हकहितमा काम गरेका नेता अहिले प्रतिनिधिसभा सदस्यको दौडमा छन् ।
उनले अब जनताको फाइल बोकेर सिंहदरबार र संसद छिर्ने चाहना राखेका छन् । त्यतिबेला विद्यार्थी राजनीतिमा चर्चा बटुलेर नेतृत्वमा पुगेका बागलुङको जैमिनी नगरपालिका–१० का भीम श्रीष अहिले क्षेत्र नम्बर १ मा कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् ।
श्रीष २०६२ देखि २०६५ सालसम्म त्रिवि केन्द्रीय क्याम्पसको स्ववियू सभापति भएर त्रिविसभाको सदस्य समेत रहेका थिए । त्रिविको स्ववियुमा उनी चार पटकसम्म रहे । जुनसुकै निर्वाचनमा ‘म्यान अफ दी इलेक्सन’ भए । दुई कार्यकाल सदस्य, उपसभापति र सभापति बन्दा नेविसंघको तर्फबाट एक्लै निर्वाचन जित्ने र प्यानल भन्दा सयौं मत बढी ल्याएर जित्ने नेताको रुपमा चिनिन्छन् । स्ववियूमा रहेको बेला उनले राजनीतिक भेदभाव नगरी काम गरिदिएको त्रिविका पूर्व विद्यार्थीहरु बताउने गर्छन् ।
उनी कांग्रेसको १२, १३ र १४ औं महाधिवेशनमा जिल्लाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका थिए । क्रिकेट संघ क्यानका केन्द्रीय रेफ्री समेत रहेका श्रीष स्ववियु सभापति भएकै बेला कीर्तिपुरमा क्रिकेट रंगाशाला बनेको हो । उनले उक्त समय निर्माण समितिमा पनि रहेर काम गरेका थिए । विज्ञान तर्फ माइक्रोबायोलोजी, मानविकी तर्फ राजनीतिशास्त्र र ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका श्रीष हालै सम्पन्न भएको विशेष महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
क्रिवि त्रिकेट रंगाशालामा धेरै पटक छत्रे टोपी लगाएर क्रिकेटको रेफ्री बसेका श्रीषलाई यतिबेला बागलुङ क्षेत्र नम्बर १ मा मतदाता भेटघाटमा छन्। ‘क्याम्पस पढदा होस् या क्रिकेट मैदानमा भीम श्रीष इमान्दारको नामले चिनिएको थियो,’ त्रिविका पूर्वविद्यार्थी लक्ष्मण आचार्य भन्छन्, ‘उनले काम गर्दा कहिले पनि आफ्नो र अर्काको भनेन ।’
श्रीषका प्रतिस्पर्धी एमाले नेता हिराबहादुर केसी पनि २०५७ देखि २०५९ सम्म स्ववियु सभापति भएका थिए । अनेरास्ववियु बागलुङको जिल्ला अध्यक्ष र एमालेको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष समेत बनेका केसी एमाले बागलुङको दुई कार्यकाल अध्यक्ष भइसकेका छन् ।
केसी २०७० को दोस्रो संविधानसभा र २०७९ मा प्रदेशसभा सदस्य उम्मेदवार थिए । २०७० को संविधानसभामा उनी कांग्रेस नेता हरिबहादुर खड्कासँग र २०७९ को प्रदेशसभा निर्वाचनमा कांग्रेस नेता दिपेन्द्रबहादुर थापाबाट पराजित भएका थिए । श्रीषलाई चुनौती दिन राजमोका कृष्ण अधिकारी र रास्वपाका सुशील खड्का चुनावी मैदानमा छन् ।








