काठमाडौं । साविक नेकपा (माओवादी केन्द्र) मुस्ताङका पूर्वअध्यक्ष गणेश थकाली नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । त्यस्तै, नेकपा (एमाले)की प्रतिभाशाली नेतृ प्रतिमा थकाली पनि कांग्रेस प्रवेश गरेकी छन् ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले माओवादी मुस्ताङका अध्यक्ष थकालीसहित महत्त्वपूर्ण नेताहरू कांग्रेस प्रवेश गरेको जानकारी दिए । “नेकपा माओवादीका मुस्ताङ जिल्ला अध्यक्ष गणेश थकाली नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ, नेकपा एमालेकी प्रतिभाशाली नेतृ प्रतिमा थकाली पनि कांग्रेस प्रवेश गर्नुभएको छ,” चालिसेले बिहीबार नियमित पत्रकार सम्मेलनमा भने, “धेरै पार्टीका महत्त्वपूर्ण नेताहरू कांग्रेसमा प्रवेश गर्दै हुनुहुन्छ ।”
उनले पार्टीको शक्ति भनेकै आन्तरिक एकता रहेको भन्दै पार्टीभित्रका प्राविधिक विषयहरू मिलेकाले कांग्रेस एकताबद्ध भएको बताए । उनले कांग्रेससँग असन्तुष्ट भएर अन्यत्र गएकाहरू फर्कने, निष्क्रिय भएर बसेकाहरूले सक्रियता जनाउने क्रम सुरु भएको भन्दै अन्य पार्टीबाट पनि कांग्रेस प्रवेशको लहरले पार्टीप्रति आमनागरिकको दृष्टिकोण सकारात्मक बनेको बताए ।








