गत शुक्रबार अर्थात् माघ १६ मा शहीद दिवसको सार्वजनिक बिदा थियो । उक्त बिदाको छेको पारेर मुलुकका दुई ठूला राजनीतिक दलका नेताहरू गोप्य भेटघाट गर्न भ्याए । ती दुई नेताहरू थिए–एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगन थापा ।

एमाले अध्यक्ष ओलीको गुण्डुस्थित निवासमा ओली र थापाबीच ४० मिनेट भएको उक्त भेटमा निर्वाचन र त्यसबाट उत्पन्न हुन सक्ने परिणामबारे छलफल भएको स्रोतको दाबी छ ।

गत शुक्रबार साँझ नौ बजेदेखि दुई नेताहरूबीच भएको भेटपछि एमाले अध्यक्ष ओलीले आफूले विगतमा प्रयोग गर्दै आएको भाषा फेरेका छन् । कांग्रेसको नयाँ नेतृत्वप्रति अनुदार बनेका ओलीले उक्त भेटपछि आफ्नो बोली केही नरम बनाउन थालेका छन् ।

थापासँगको भेटपछि उनको भाषा फेरिएको महसुस मालेका नेता तथा कार्यकर्ताले समेत गर्न थालेका छन् । झापामा आफ्नो उम्मेदवारीलाई लिएर उनी केही गम्भीर भएको बुझ्न सकिन्छ ।

एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले २१ माघ साँझ काठमाडौंको तीनकुनेमा आयोजना गरेको चुनावी कार्यक्रममा ओलीले झापा निर्वाचन क्षेत्र नं. ५ को चुनावी प्रतिस्पर्धामा नयाँ उम्मेदवारबाट चुनौती आएको कुरा घुमाउरो भाषामा स्विकार गरेका छन् । कार्यक्रममा ओलीको बोली थियो, ‘जित्ने त हामीले नै हो । तर पहिलेभन्दा धेरै भोटले जित्नुपर्‍यो ।’

ओलीको बोलीले विशेष अर्थ दिएको बुझ्न कठिन छैन । अर्थात् यस पटक ओलीका लागि झापा–५ मा विजय सहज छैन । चुनावी प्रतिस्पर्धा निकै कठिन मात्र छैन,मत पाउने परम्परागत आधार कमजोर हुँदै छ । यसैले विगतमा जस्तो ‘सहज विजय हुन्छ’ भन्दै ढुक्क हुने स्थिति छैन ।

झापाको क्षेत्र नं १ देखि ५ सम्ममा क्रमशः : गोविन्द पराजुली गीता बराल,सुरज काफ्ले,राम गौतम र मनोज दाहालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको उक्त कार्यक्रममा बोल्दै ओलीले कांग्रेस, एमाले र माओवादीबीच सहकार्य र एकताको खाँचो रहेको औँल्याउन भ्याए । उनले आफ्नो भनाइका क्रममा कांग्रेस, एमालेको नामै नलिई ‘पुरानो पार्टी’ भन्दै उनीहरूको बचाउ गरेछन् ।

‘पुराना पार्टी काम लाग्दैनन्, पुरानाले हुँदैन, केही नजानेका गुलेली मट्याङ्ग्रा खेल्दै गरेका गुच्चा खेल्नेहरूलाई ल्याएर जिम्मा लाइदिनुपर्छ देश, भनिँदैछ’ ओलीको भनाई थियो ।

पुराना पार्टी र नेताको बचाउ गर्दै ओलीले उक्त कार्यक्रममा लामो मन्तव्य दिने क्रममा भनेका छन्, ‘अमेरिकामा के भनिन्छ ? त्यहाँ ८० वर्षका अनुभवी नेता छन् । त्यस कारण ‘देश जोगिन्छ, देश बन्छ’ भनिन्छ अमेरिकामा । नेपालमा चाहिँ ७० वर्षका बुढाले पनि देश चलाउँछ ? भन्छन् । दुनियाँमा कहीँ सुनिँदैन,नयाँले देश चलाउँछ भन्ने । कहिले आफूलाई मात्रै भोट हाल्छु, कहिले भोटै हाल्दिनँ भन्ने भोट हालेभन्दा परको कुनै अनुभव नभएका मान्छे प्यासेन्जरसम्म भएर प्लेन चढेका मान्छेलाई पाइलट बनाउनुपर्छ भन्ने पनि कुरा चल्छ । त्यस्ता प्लेनमा को चढ्दा ? पाइलटको सिटमा नबसेकाहरू पाइलट भएर देश चलाउने ? सिकेकै छैन, के हुन थालेको देश ?’

ओलीको भनाई थियो, देश चलाउनु गुच्चा खेल्नु नभई सोच, नीति, दर्शन र सिद्धान्त चाहिन्छ । ओलीले प्रतिस्पर्धी बालेनप्रति लक्षित गर्दै प्यासेन्जरसम्म भएर प्लेन चढेकालाई पाइलट बन्ने रहर जागेको भन्दै कटाक्ष गरेका थिए । करिब पाँचसय एमाले कार्यकर्ताको उपस्थिति रहेको उक्त कार्यक्रममा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनामा पनि उत्तिकै जोड दिएका थिए ।

‘यस्तो बेलामा हामी न्याय माग्न अदालतमा गयौँ । अदालतले कुनै सुनुवाइ गरिरहेको छैन । कानमा तेल हालेरै बस्या छ । म अदालत सम्मानित होस् भन्ने चाहन्छु । सम्मान गर्न चाहन्छु । स्वतन्त्र न्यायालयको गरिमा रहोस् भन्ने चाहन्छु । यो सरकार संवैधानिक हो कि होइन न्यायालयले भन्दिनु पर्‍यो । हो भन्छ भने अगाडि बढौँला’, कार्यक्रममा ओलीले सुनाएका छन् ।